विकलांगका अभिभावकको पीडा ‘हामीभन्दा अघि नै छोराछोरी मरे हुन्थ्यो’ - KTV Khabar

Breaking

विकलांगका अभिभावकको पीडा ‘हामीभन्दा अघि नै छोराछोरी मरे हुन्थ्यो’

;

काठमाडौं – बाबुआमाका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेकै उनीहरूका सन्तान हुन् । बाबुआमाका लागि सन्तानको माया कति हुन्छ भनेर अहिलेसम्म कसैले पनि खुट्याउन सकेका छैनन् । आफ्ना छोराछोरी सांग हुन या अपांग, दृष्टिविहीन हुन् या श्रवणशक्ति कम भएका, लुलालंगडा हुन् या अशक्त (शारीरिक रूपमा अपांग) । उनीहरूको अनुहार मात्रै देख्दा पनि बाबुआमाको खुसीले सीमा नाघ्छ ।

बाबुआमा आफ्ना छोराछोरीलाई मुटुको टुक्रासरह मान्छन् । छोराछोरीलाई चोट लाग्दा घाउ लागेका छोराछोरीलाई भन्दा बाबुआमालाई अझै बढी दुख्छ । आफूले जन्माएको छोरो लडाइँमा मर्दाको व्यथालाई समेटेर लोकगायक झलकमान गन्धर्वले त एउटा चर्चित लोकगीत नै गाएका छन ‘बाबा रुन्छन् नि वर्ष दिन, आमा बरै जुनीभरिलाई ।’

सन्तानलाई माया गर्ने बाबुआमामध्ये केही अहिले आफ्ना छोराछोरीको शारीरिक अवस्थादेखि निकै पीडामा छन् । उनीहरूको भविष्य सम्झेर कहिलेकाहीँ डाँको छोडेर रुन्छन् । अनि आफैं सम्हालिन्छन र भन्छन्,‘यो सन्तान हामीभन्दा अगाडि नै मरेदेखि यसले सुख पाउँथ्यो कि बरु ?’
शल्यक्रिया गरी आमाको गर्भबाट निकाल्दा पाटन अस्पतालको लापरबाहीका कारण कम्मरको नशा काटिएका बालक मविश उमेरले किशोर भइसकेका छन् । उनका समकक्षी यतिखेर १२ कक्षा उत्तीर्ण गरी स्नातक पढिराखेका छन् । तर पाल्पा चिर्तुङधारा घर भई अहिले भक्तपुर बस्दै आएका विष्णु र मञ्जु बस्यालका १८ वर्षे छोरा मविश जन्मेदेखि नै ओछ्यानमै छन् । उनको आँखाले मात्रै केही भनेजस्तो गर्छ, नत्र अरू शारीरिक प्रतिक्रिया केही छैन । डाइपरमै दिसापिसाब गर्छन् । बाबुआमाले दैनिक झोलिलो खानेकुरा बनाएर खुवाउने गर्छन् । काममा जाँदा अपांग छोरालाई कोठाभित्र थुनेर जानुपर्ने बाध्यता १८ वर्षदेखि जारी छ ।

‘हामीलाई यसको (अपांग छोराको) भविष्यको चिन्ता बढी छ । हामीभन्दा पहिलै यो गयो भने हामी चित्त बुझाउन सक्छौं । तर हामी पहिला मरेर यो बाँच्यो भने यसलाई कसले हेर्ला ?’ मविशपछिको सांग कान्छो छोरा १५ वर्ष टेकिसकेको छ ।बाबुआमाले जस्तै भाइ र भविष्यमा आउने बुहारीले उसलाई हेर्छ भन्ने बाबुआमा दुवैमा विश्वास छैन ।
मञ्जु र विष्णुलाई मात्रै होइन, सूर्यविनायक नगरपालिका–७ की २५ वर्षीया सरस्वती वाग्लेको अवस्था १८ वर्षीय मविशको भन्दा खासै फरक छैन । जन्मिँदा स्वस्थ देखिए पनि त्यसकोे केही महिनादेखि नै सुस्त मनस्थिति भएकी छोरीलाई आफू मेलापातमा जाँदा डोरीले बाँधेन भने कौसीबाट लडेर दाँत नभाँचिएको दिनैै हुँदैन । उनका अगाडिका चारवटा दाँत झरिसकेका छन् भने लडेर हातगोडामा पटकपटक चोट लागिसकेका छन् ।
बाबुआमा हरेराम र गौरी वाग्लेको जति उमेर बढ्दै जान्छ, उनीहरूको चिन्ता अरू छोराछोरीभन्दा तिनै सुस्तमनस्थिति भएकी छोरीको बढी लाग्ने गर्छ । र भन्छन्, ‘हामीभन्दा अघि नै यो छोरी मरेदेखि मर्ने बेलामा हाम्रो सास सजिलै जान्थ्यो कि ।’ छोरीकै स्याहारसुसार र चिन्ताका कारण छोरीलाई छाडेर आमा गौरी माइत नगएको २५ वर्ष पूरा भएको छ ।
सानोठिमीकै अर्की आमा आफ्ना १४ वर्षे अपांग छोराको भवष्यिप्रति त्यतिकै चिन्तित छिन् । आफ्नो दुःख लुकाउन उनी प्रायःजसो भोजभतेर र रमझममा सहभागी हुने गर्छिन् । भन्छिन्, ‘घरमा बस्यो कि छोराको अनुहार देखेर मन भारी भएर आउँछ, बरु बाहिर गएर उसको अनुहार बिर्सिने प्रयास गर्छु ।’
उता पत्रकार विन्दुकान्त घिमिरेका छोरा आविष्कारको अवस्था पनि उस्तै छ, पाटन अस्पतालकै लापरबाहीका कारण जन्मेदेखि नै छोराको शारीरिक अवस्था बिग्रेकोमा उनी र उनकी पत्नीमा अनावश्यक चिन्ता थपिएको १४ वर्ष भइसक्यो । पीडा खप्नुबाहेकको विकल्प उनीहरूसँग छैन । ‘सद्धे सन्तानको भन्दा यसको बढी माया र चिन्ता लाग्छ,’ घिमिरे दम्पती भन्छन् ।
बस्याल, वाग्ले र घिमिरे त प्रतिनिधि पात्र मात्रै हुन् । मुलुकभरि शारीरिक रूपमा पूर्ण अशक्त र अपांगता भएका छोराछोरीको संख्या ५० हजारभन्दा बढी रहेको बताइन्छ । सरकारले पूर्ण अपांगता भएका व्यक्तिलाई मासिक २ हजार रुपैयाँ भत्ता दिएर पन्छिनेबाहेक उनीहरूका बाबुआमालाई उनीहरूको अन्योलपूर्ण भविष्यको चिन्ताबाट मुक्त गर्ने विषयमा अहिलेसम्म रत्तिभर सोचेको छैन ।
शारीरिक रूपमा अपांग र अशक्त सन्तानको चिन्ता राज्यले नलिई बाबुआमाले मात्रै लिनुपरेकोमा त्यस्ता सन्तानका बाबुआमा गुनासो गर्दै भन्छन्, ‘के यस्ता नागरिकको संरक्षण र रेखदेख गर्ने जिम्मा सरकारको होइन, हामीले कसलाई गुनासो गर्ने ?’

आजको राजधानी दैनिक मा खबर छ ।

The post विकलांगका अभिभावकको पीडा ‘हामीभन्दा अघि नै छोराछोरी मरे हुन्थ्यो’ appeared first on Daleema News.

No comments:

Post a Comment