धुुर्मुस भन्छन् : छोरीलाई अहिले माया दिन पाइन, ठूली भएपछि कुरो बुझ्नेछिन् - KTV Khabar

Breaking

धुुर्मुस भन्छन् : छोरीलाई अहिले माया दिन पाइन, ठूली भएपछि कुरो बुझ्नेछिन्

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

काठमाडौं, साउन १३ – कलाकारिताबाट चर्चाको शिखरमा पुगेका हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अहिले सामाजिक कामको कारण चर्चामा छन् । सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती बनाएर सबैको वाहवाही पाएका धुर्मुस सुन्तलीले महोत्तरीको बर्दिवासमा नमुना मुसहर बस्ती बनाएर झनै धेरैको मन जिते ।

यसपछि उनिहरु अर्को ठुलो योजनामा लागेका छन् । ‘नेपाल भित्रको नमुना नेपाल’ बनाउनको लागि उनिहरु अहिले दौडधुपमा लागेका छन् । नेपालका सबै धर्म, संस्कृति, भाषा र जातजाति एकै ठाउँमा अट्ने नमुना नेपाल बनाउने सुरसारमा जुटेका छन् । धुर्मुस सुन्तली आफ्ना व्यक्तिगत काम छाडेर समाजसेवामा लागेका छन् ।

नमुना नेपाल असली परिक्षण
देशविदेशको दौडाहा, विभिन्न संस्थाहरुसँग आग्रह र आफैले नै पसिना बगाएर सिन्धुपाल्चोकको गिरानचौरमा धुर्मुस सुन्तली फाउन्डेसनले ६५ वटा नमुना घर बनायो । झण्डै ५ करोड १५ लाख रुपैयाँको लागतमा भूकम्पले ढलेको बस्ती पहिला भन्दा राम्रो भयो । गत वर्षको कार्तिकमा राष्ट्रपतिले ६५ वटा परिवारलाई घर हस्तान्तरण गर्नुभयो । अहिले गिरानचौरबासी धुर्मुस सुन्तलीलाई भगवान भन्दा माथि ठान्छन् ।
गिरानचौरको बस्ती उठाएर चर्चाको शिखरमा पुगेका धुर्मुस सुन्तलीको आँट झनै बढ्दै गयो । उनिहरुले महोत्तरीको बर्दिवासमा पनि झण्डै ५ करोडको लागतमा ५३ वटा घर तयार गरे । मुसहर समुदायमा खुशी छायो । उनीहरुले कल्पनै नगरेका घर पाए ।
यी २ वटा ठुला प्रोजेक्ट सफलतापुर्वक सम्पन्न भएपछि धुर्मुस सुन्तली नेपाल भित्रको नमुना नेपाल बनाउने अभियानमा लागेका छन् । तर यो प्रोजेक्ट यसअघिका भन्दा निकै ठुलो भएकाले उनीहरुलाई यसअघिका प्रोजेक्टमा जस्तो सजिलो हुनेछैन् । एक हजार रोपनी जग्गामा ५ अर्व रुपैयाँको लागतमा बनाउने नमुना नेपालको बनाउने लक्ष्यमा हार भने नखाने उनिहरुको भनाई छ ।
‘पहिलाका प्रोजेक्ट भन्दा यो प्रोजेक्ट निकै नै ठुलो हो, करोड जुटाउनु र अर्ब जुटाउनुमा आकास पातालको अन्तर छ, तर हामी अत्तालिएका छैनौँ’ धुर्मुसले उज्यालो अनलाइनसँग भने, ‘आँटेपछि सकिने रहेछ भन्ने कुराको प्रमाण गिरानचौर र बर्दिवासले दिएको छ ।’
यो राष्ट्रिय गौरवको परियोजना भएका कारण पनि सोचेभन्दा धेरै दौडधुप त गर्नैपर्ने उनको भनाई छ ।

जग्गा छनौटको काम अन्तिम चरणमा
हिमाल पहाड र तराइ एकै ठाउँमा अटाउने योजना सहितको योजनामा नमुना नेपालको स्केच डिजाइन भयो । स्केच डिजाइनमा झन्डै एक हजार रोपनी जग्गा लाग्ने अनुमान गरिएको थियो । तर भौगोलिक अवस्थाका कारण अब १ हजार रोपनी जग्गाले नपुग्ने भएको धुर्मुसले बताए । १५ देखि २ हजार रोपनी जग्गाको प्रस्तावना मन्त्रालयमा पठाएको उनको भनाई छ ।
अहिले विभिन्न जिल्लामा जग्गाको अध्ययन गरेर स्विकृतीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । सँगै भुमिसुधार, र वन मन्त्रालयले पनि अध्ययन गरिरहेका छन् । मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गर्ने र मन्त्री परिषद्ले पारित गरेपछि नमुना नेपालको कार्ययोजना बन्नेछ ।

दलालहरु सलबलाउने भएकाले ठाउँ खुलाइएन
१५ सय देखि २ हजार रोपनी जग्गामा बन्ने नमुना नेपाल परियोजनाको लागि ५ अर्व खर्च लाग्ने अनुमान छ । परियोजना बनिसकेपछि त्यो बनेको ठाउँ वरपर निकै फाइदा पुग्छ । पर्यटकिय स्थान बन्छ, परियोजनाकै कारण परियोजना बन्ने ठाउँको काँचुली फेरिने पक्का छ । त्यसैले धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेका नुमना नेपाल परियोजनास्थल वरपर जग्गा दलालहरुको विगविगी बढ्न थालेको छ । ललितपुरको लेलेमा अध्ययन थालेदेखि नै जग्गा दलालको विगविगी बढेपछि अन्य जिल्लामा कहाँ अध्ययन भैरहेको छ भन्ने कुरा नखुलाउने निर्णयमा धुर्मुस सुन्तली पुगेका छन् । ठ्याक्कै ठाउँ खुलाउन नमिले पनि ललितपुर, भक्तपुर, काठमाण्डु, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रे आसपासका सार्वजनिक जग्गाको अध्ययन भैरहेको छ ।
‘हामीले अहिले विभिन्न ठाउँमा जग्गा अध्ययन गरिरहेका छौं, अहिले नै जग्गा अध्ययन भैरहेको ठाउँ सार्वजनिक ग¥यो भने जग्गा दलालको विगविगी बढ्छ, त्यसैले हामीले सार्वजनिक नगरेका हौं’ धुर्मुसले उज्यालोसँग भने ।

प्रधानमन्त्री देउवाले भने , सामाजिक काम हो, सकेको सहयोग गर्छु
नमुना नेपाल परियोजनाको लागि जग्गाको स्विकृतीमा सहयोग गरिदिन र सरकारको तर्फबाट आर्थिक सहयोगको अपेक्षा सहित धुर्मुस सुन्तली सहित फाउन्डेसनका विज्ञले अघिल्लो हप्ता प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका थिए । भेट प्रधानमन्त्रीले धुर्मुस सुन्तलीको कामबाट आफु प्रभावित भएको र सक्दो सहयोग गर्ने वचन दिएको धुर्मुसले जानकारी दिए ।
‘प्रचण्ड प्रधानमन्त्री हुँदा पनि हाम्रा अभियानमा सहयोग भएकै थियो, यो परियोजनामा पनि सहयोग गर्ने संकल्प पनि लिनुभएको थियो, तर प्रचण्ड सरकार ढल्यो तर पनि उहाँको ठाउँमा आएका देउवाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ’ धुर्मुसले भने, ‘यो परियोजना निकै महत्वको भएकाले सरकारको सहयोग रहने पनि प्रधानमन्त्रीले भन्नुभएको थियो ।’
आफुहरु सरकारको एउटा महत्वपुर्ण अंगको रुपमा ठुलो परियोजना बनाउन लागेकोले सरकारको सहयोग हुनेमा आफुहरु आसावादी रहेको उनको भनाई छ ।

५ अर्व जुटाउन अभियान सुरु भैसक्यो
५ अर्व रुपैयाँ सहयोग एउटा कलाकारको संस्थाले उठाउनु चानचुने कुरा होइन । गिरानचौर र मुसहर बस्ती बनाउँदा झण्डै १० करोड जुटाउन निकै दौडधुप गरेका धुर्मुुस सुन्तली दम्पतीलाई ५ अर्व जुटाउन सजिलो पक्कै छैन् । तर उनिहरुले अहिले देखि नै सहयोग जुटाउन सुरु गरिसकेका छन् ।
‘यो चाँही हाम्रो पहिचान बोक्ने परियोजना भएका कारण सहयोग गर्नुपर्छ भन्ने भावना जुटाउन सक्यौं भने सहयोग जुटाउन केही सहज हुन्छ होला, हामीलाई पटक पटक सहयोग गर्नुभएका आम नागरिकलाई हामी फेरी पनि सहयोगको अपिल गर्नेछौं’ धुर्मुसले भने, ‘जग्गाको टुंगो लागेपछि सहयोग उठाउन संस्थागत अभियान नै चलाउँछौं ।’
अवधारणा घोषणा गरेकै दिन अल्का अस्पतालबाट २५ लाख, मुक्तिनाथ विकास बैंकबाट १० लाख, अन्य व्यक्ति तथा संस्थाहरुले पनि १ लाख, ५० हजार, २५ हजार लगायत सहयोग आएको थियो।

छोरीलाई अहिले माया दिन पाइन, ठूली भएपछि कुरो बुझ्नेछिन्
धुर्मुस सून्तलीकी छोरी सुविहानी ४ बर्षकी पुगिन । विभिन्न कामले उनिहरुले छोरीलाई सानैदेखि रेखदेख गर्न पाएनन् । गिरानचौरमा नमुना बस्ती बनाउँदा र महोत्तरीमा मुसहर बस्ती बनाउँदा र सहयोग जुटाउने क्रमममा त उनिहरुले कयौं दिनसम्म छोरीलाई भेट्न पनि पाएनन् । सरसफाइ दुत भएकाले पनि छोरीलाई छाडेर उनिहरु तराइका जिल्ला जिल्लामा डुल्नुपर्यो ।
पहिले भन्दा अहिले झनै व्यस्त भएको धुर्मुुको भनाई छ । परियोजना वरपरका बासिन्दालाई सम्झाइ बुझाइ गर्ने, जग्गाको अध्ययन गर्ने, अनुमोदन गराउनको लागि दौडधुप गर्ने र सहयोग जुटाउने कामले विहानैदेखि रातीसम्म व्यस्त हुनुपरेको धुर्मुसले बताए । जग्गाको अध्ययन भैहरेका क्षेत्रका सांसस, दलका नेता र स्थानिय तहका जनप्रतिनिधीसँग पनि उत्तिकै संवादमा बस्नुपरेको छ । परिवारलाई समय दिन निकै मुश्किल रहेको उनको भनाई छ ।
‘अहिले त छोरी बोल्न सक्ने भएकी छिन, फोनमा कुरा हुन्छ, दिनभरी व्यस्त भएपनि राती जहाँ हुन्छु त्यहिबाटै छोरीलाई फोन गर्छु’ छोरीलाई समय दिन नपाएको धुर्मुसले दुखेसो पोखे, ‘छोरीसँग बसौं, कुरा गरौं, तोतेबोली सुनिरहौं त कसलाई लाग्दैन र, तर म अभियानमा हिड्दा पलपल छोरीलाई मिस गरिरहेको छु ।’
छोरीका कुरा गर्दा निकै भावुक भएका धुर्मुस परिवार या समाजलाई समय दिनुपर्ने विकल्पमा आफुले समाज विकल्प रोजेको बताउछन् । ‘छोरी बुझ्ने भैसकेपछि छोरीले कुरा बुझ्नेछिन कि, वावाले म जस्ता हज्जारौं छोरीको लागि मलाई समय नदिएर काम गर्नुभएको रहेछ’ धुर्मुसले उज्यालोसँग भने, ‘अहिले त बेलुका घर पुग्दा सुतिसकेकी हुन्छिन, विहान उनि ओच्छयानमा हुँदा हामी हिडिसक्छौं ।’

सिताराम भन्दा धुर्मुस प्यारो
मेरी बास्सै हास्य टेलिश्रृंखलाबाट धुर्मुस नामले उदाएका सिताराम कट्टेल धुर्मुसकै नामले परिचित छन् । धुर्मुस नामले नै आफुलाई देश दुनियामा चिनाएको र सामाजिक काममा लाग्न प्रेरणा दिएकाले आफुलाई सिताराम भन्दा पनि धुर्मुस नै प्यारो लाग्ने उनको भनाई छ ।
‘धुर्मुस नभएको भए म यति धेरै चर्चित हुनेथिइन, र यो सामाजिक अभियान अनि सहयोग पनि जुट्ने थिइन होला त्यसैले मलाई त सिताराम भन्दा धुर्मुस नै प्यारो लाग्छ’ धुर्मुसले भने ।

स्रोत :- उज्यालो अनलाइन

The post धुुर्मुस भन्छन् : छोरीलाई अहिले माया दिन पाइन, ठूली भएपछि कुरो बुझ्नेछिन् appeared first on Daleema News.

No comments:

Post a Comment