काठमाडौं, साउन १२ – काठमाडौंका धेरै चोकमा ट्राफिक बत्ति छैन । भएका ठाउँमा पनि चल्दैनन् । नबल्ने ट्राफिक बत्ति बनाउन पनि सम्बन्धित निकायले वास्ता गरेको देखिँदैन । यस्तोमा चालक र पैदल यात्रुसँगै ट्राफिक प्रहरीलाई पनि समस्या बढेको छ ।
ट्राफिक बत्ति नबल्ने भएपछि चोकमा उभिएका ट्राफिक प्रहरीलेनै हातको इशाराले गुडिरहेका सवारी साधन रोक्ने तथा रोकिएका सवारी साधनलाई अब जाउ भन्ने संकेत गर्ने गरेका छन् । यसरी हातले इशारा गर्दा सवारी चालकले नदेख्न सक्छन् र कतिपय अवस्थामा अलमलिने गरेका छन् ।
काठमाडौंका मुख्य चोकहरु थापाथली, माइतिघर, बानेश्वर, कोटेश्वर, तीनकुने लगायत ठाउँमा ट्राफिक बत्ति नहुँदा सवारी जाम हुने समस्या बढेको छ । ट्राफिक बत्ति भएका ठाउँमा निश्चित समयमा बाटो काट्न सहज हुन्छ तर जहाँ ट्राफिक प्रहरीको इशारा पर्खिनुपर्छ त्यहाँ सवारी चाप बढी हुने गरेको छ । यस्तो समस्या समाधानका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले नयाँ उपाय अपनाएको छ ।
महाशाखाले बिहीबारदेखि ट्राफिक बत्तिको विकल्पका रुपमा प्लेकार्ड चलाएको छ । सवारी चाप बढी हुने चोकमा ट्राफिक प्रहरीले ‘स्टप’ र ‘गो’ लेखिएको प्लेकार्ड देखाएर सवारी साधनलाई रोकिने र जाने इशारा गर्न थालेका हुन् ।
महाशाखाका प्रवक्ता लोकेन्द्र बहादुर मल्लले यसो गर्दा ट्राफिक प्रहरीको हात पनि नदुख्ने, सवारी चालकले पनि राम्रोसँग देख्न र बुझ्न सक्ने बताउनुभयो । बिहीबारदेखि यो उपाय काठमाडौंका २५/३० वटा मुख्य चोकहरुमा अपनाइएको मल्लले जानकारी दिनुभयो

The post अब काठमाडौंमा ट्राफिकको हात दुख्दैन, नयाँ प्रयोग सुरु appeared first on Daleema News.

No comments:
Post a Comment