एजेन्सी । म १६ वर्षीया युवती हुँ । मेरो स्तन एकदमै ठूलो छ र तल झरेको पनि छ । बजारमा अहिले स्तन सानो पार्ने अनेकन प्रोडक्ट उपलब्ध छन् तर मलाई डर लाग्छ कतै त्यसले नकारात्मक असर त गर्ने होइन ? स्तन सानो पार्न के गर्नुपर्ला ?
स्तनको आकार
विशेष गरी किशोरावस्थामा आफ्नो शरीरमा भैरहेका विभिन्न परिवर्तनका सम्बन्धमा निकै चासो हुन्छ । यसै क्रममा किशोरीहरूमा स्तनको आकारका बारेमा पर्याप्त चासो हुन्छ । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । किशोरावस्थामा शरीरमा भैरहेका यी परिवर्तनप्रति कतिपय किशोरी सहज हुन सकिरहेका हुँदैनन् । वास्तवमा स्तन सामान्य रूपमा हुनुपर्नेभन्दा ठूलो नभए पनि आफ्नो स्तन निकै ठूलो भएजस्तो लाग्न सक्छ । आफैंभित्र असजिलो भएका कारणले विकास हुँदै गएको आफ्नो स्तनमै सबैको ध्यान गएजस्तो लाग्छ । तपार्इंलाई पनि यस्तै त भएको होइन, एकपटक विचार गर्नुहोला । स्तनको नाप सामान्य भए पनि तपाईंलाई ठूलो लागेको हुन सक्छ ।
स्तनको नाप कसरी लिने ?
सकिन्छ भने शरीरको माथिल्लो भागको सबै वस्त्र फुकालेर नाप लिनुपर्छ । लचिलो नाप्ने फित्ताले नाप्नुपर्छ र नाप लिँदा धेरै कसिलो वा खुकुलो नभई ठिक्क गरी लिनुपर्छ । फित्ता दुवै काखी हुने गरी स्तनका सबैभन्दा बढी उभार भएको स्थानमा रहेको हुनुपर्छ । अब नाप कति भयो भनेर टिप्नुुपर्छ । फित्ता अनुसार इन्च वा सेन्टिमिटरमा नाप लिनुपर्छ । यसले महिलाको छातीको नाप दिन्छ ।
यदि तपाईंले स्तनको ‘थुन’ (कल्चौँडो) वा भनौं ‘कप’ साइज पनि एक महत्त्वपूर्ण पक्ष हो । यसले उचित नापको थुनचोली खरिद गर्न मद्दत गर्छ । नाप्ने फित्ताको सहयोगमा स्तनको ठीक मुनिबाट छातीको गोलाइको नाप लिनुहोस् । यो नाप बिजोडी भए ५ इन्च र जोडी भए ४ इन्च जोड्नुहोस् । जोडेर आएको संख्याले थुनचोलीको ‘Band’ साइज दिन्छ । उदाहरण : ३१+५=३६ Band size हुन्छ । अब स्तनको सबैभन्दा उभारयुक्त वा भरिलो भागबाट लिएको नाप (छातीको नाप) बाट band size लाई घटाउनुहोस् । यसले थुनचोलीको कपको साइज दिन्छ । उदाहरणका लागि यदि यो नाप ३८ इन्च छ भने Cup साइज B हुन्छ । स्तनको कप A (१ इन्च), B (२ इन्च), C (३ इन्च), D (४ इन्च) र DD (Double D) (५ इन्च) भएअनुसार यी आकारका कपको साइज भएका थुनचोलीहरू पाइन्छन् । ठूला आकारका साईज चाहिँ F,G, H वा अझै ठूला आकार हुन्छन् ।
स्तनलाई किन सानो बनाउने ?
तपाईं मध्य किशोरावस्थामा हुनुहुन्छ र अझै तपाईंको स्तनको विकास भैरहेको छ । सामान्यत: विकिसित अर्थात् उन्नत स्तनलाई आकर्षक मानिन्छ र धेरै महिलाले यसलाई बढाउने चेष्टा गर्छन् । तपाईंले किन स्तन सानो बनाउने कुरा सोच्नुभयो, थाहा भएन । तपाईंले आफ्नो स्तनको नाप उल्लेख नगर्नुभएको हुनाले तपाईंको स्तनलाई तपाईंले ठूलो मान्नु भएको मात्र हो वा साँच्चिकै ठूलो हो, भन्न सकिएन । शरीरको बनौट र मोटाइमा पनि स्तनको आकार भर पर्छ । निम्न स्थितिमा भने उपचार आवश्यक पर्ने गरी स्तनको आकार ठूलो भएको मानिन्छ । स्तनलाई सानो बनाउनुपर्ने आधारहरूको कुरा गर्दा, स्तनकै कारणले एक वा एकभन्दा बढी निम्न समस्या परेको हुनुपर्छ :
– शरीरको संरचनाको तुलनामा स्तनको आकार अति नै
ठूलो हुनु ।
– स्तनको मुन्टो नै तल फर्कने गरी भारी तथा पेन्डुलमजस्तो स्तन हुनु ।
– दुई स्तनमध्ये एक स्तन अर्को स्तन भन्दा निकै ठूलो हुनु ।
– स्तनको वजनका कारणले ढाड, गर्धन वा काँध दुख्नु ।
– स्तनमुनिको छालामा पास्सिएर पोल्नु ।
– थुनचोली को Straps ले काँधमा गहिरो डाम पार्नु ।
– स्तनको आकार तथा तौल बढी भएकैले शारीरिक क्रियाकलाप गर्न बाधा हुनु ।
– स्तन ठूलो भएका कारणले आफ्नो शारीरिक स्वरूपप्रति अति नै असन्तोष हुनु ।
धेरैजसो अवस्थामा ‘स्तन न्यूनीकरण’ गरिने आधार शारीरिक नै हुने भए पनि प्लास्टिक सर्जरीको क्षेत्रमा यस किसिमको शल्यक्रिया सुन्दरता बढाउन प्रयोग गरिँदै आएको छ ।
स्तन सानो बनाउन के गर्ने ?
स्तनको आकार अर्थात् आयतन ठूलो हुनुमा मुख्य भूमिका त्यसमा भएको बोसोले निर्धारण गर्छ । यही बोसोलाई कम गरेर स्तनको आयतन कम गरिन्छ । तपाईंले बजारमा प्रचार गरिएका वा पाइने क्रिम, लोसन, जेलजस्ता उत्पादनको कुरा गर्नुभएको छ । यी उत्पादक कम्पनीले सफलता अनि प्रभावकारिताको दाबा गरे पनि यस्ता उत्पादनको दीर्घकालीन प्रभावका बारेमा पर्याप्त वैज्ञानिक अनुसन्धान अनि पुष्टि अझै पनि भैसकेको स्थिति छैन । त्यसैले तिनको प्रयोग त्यति बुद्धिमानी नहोला । ती उत्पादनले पनि स्तनमा बोसो जम्मा हुन नदिने कुरा नै गर्छन् ।
प्रभावकारी रूपमा स्तन सानो बनाउन ‘स्तन न्यूनीकरण’ (Reduction Mammoplasty) भनिने शल्यक्रिया गर्नुपर्छ । शल्यक्रियाको तयारी आवश्यकताअनुरूप शल्यचिकित्सकको सल्लाहअनुसार गर्नुपर्ने हुन्छ । त्यसका साथै ‘पर्न सक्ने’ नकारात्मक असरहरूका बारेमा पनि शल्यचिकित्सकसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ । केही परिस्थितिमा स्तनपानलाई नकारात्मक असर पार्न सक्छ । आफ्नो नयाँ शारीरिक रूप तथा मानसिक व्यवस्थापन गर्न केही समय लाग्छ । शल्यक्रिया नगर्ने स्थितिमा शरीरको तौल बढी छ भने त्यसलाई घटाउनु र व्यायाम गर्नु स्वस्थ उपाय हो ।
अर्को कुरा भाग्यवश स्तन छोपेर राखिने अङ्ग हो । थुनचोलीजस्ता भित्री पहिरन होस् वा बाह्य पहिरन, त्यसको सही छनौट गर्न सकियो भने पनि स्तनको उभारलाई एक हदसम्म लुकाउन सकिन्छ ।
नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”
No comments:
Post a Comment