चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र जेष्ठ नागरिकलाई ओपिडी शुल्क निःशुल्क गर्ने निर्णय गरेकी छिन्। मेयर दाहालले भरतपुर क्षेत्रीय अस्पतालमा उपचारका लागि आउने महिलाको ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गरेकी हुन्।
भरतपुर अस्पतालमा औसतमा वार्षिक दुई लाख महिला ओपिडीमा उपचारका लागि आउने गरेका छन्। गत वर्ष अस्पतालमा एक लाख ९८ हजार महिलाले ओपिडीबाट सेवा लिएका थिए। अस्पतालले ओपिडी टिकट बापत ३० रुपैयाँ लिँदै आएको छ।
मेयर दाहालले महिलाको स्वास्थ्यका समस्यालाई आफूले राम्ररी बुझेको भन्दै महिलालाई उपचारको पहुँचमा ल्याउन ओपिडी टिकट निःशुल्क गरिएको बताइन्। निःशुल्क ओपिडी टिकटका लागि महानगरपालिकाले वर्षिक ६० लाख बजेट छुट्याउने उनको निर्णयमा उल्लेख छ।
‘महिलाहरु विभिन्न कारणले उपचारका लागि आउन मान्दैनन्,’ मेयर दाहालले भनिन्, ‘यदि निःशुल्क ओपिडी सेवा दिने हो भने लाज, डर वा अन्य कारणले रोग लुकाउने महिलाहरु उपचारको दायरामा आउनेछन् र धेरैले समयमै उपचार पाउनेछन्।’ उनले आवश्यकता अनुसार अन्य कार्यक्रम पनि थप्दै जाने जानकारी दिइन्।
मेयर दाहाल र उपमेयर पार्वती शाहले जेष्ठ नागरिकको ओपिडी टिकटसमेत निःशुल्क गर्ने, महिला र शिशुको स्वास्थ्यलाई लक्षित गर्दै सहरी स्वास्थ्य क्लिनिकको संख्या बढाउने जस्ता निर्णय पनि गरेका छन्।
उपमयेर शाहले स्वास्थ्यका विज्ञ तथा सरकोकारवालाहरुसँग छलफल गरेर महानगरका नागरिकका लागि लक्षित कार्यक्रम ल्याउने जानकारी दिइन्।
स्वास्थ्य खबरबाट

No comments:
Post a Comment