बग्दाद (इराक), २६ साउन । इस्लामिक स्टेट (आइएस) लडाकूहरूको नियन्त्रणबाट मु्क्त भएका इराकका केही प्रमुख सहरहरूमा मुक्तभएपछि गरिबी बढेको पाइएको छ ।
ती ठाँउहरूमा ४५ प्रतिशत सम्म गरिबी बढेको एक जना सांसदले बिहीबार जानकारी दिएको सिन्ह्वाले लेखेको छ ।
योजना र अन्तर्राष्ट्रिय संगठन मन्त्रालयले गरेको पछिल्लो ताजा सर्वेक्षणका क्रममा गत दुई बर्षको अवधिमा २० देखि ४५ प्रतिशत सम्म गरिबी बढेको देखिएको छ ।
गरिबी निवारण राष्ट्रिय समितिका सदस्य नुरा अल बेचारीले यसरी गरिबी बढेको देखिएका प्रान्तहरूमा सलाहुद्धिन, दियाला, निनेभे, अन्बार र किर्कुक रहेको जानकारी दिनुभयो ।
तथ्याङ्कमा आन्तरिक विस्थापनमा परेका र विदेश बसाई सराई भएकाहरूलाई भने समावेश नगरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नियन्त्रण मुक्त भएका ठाँउहरूमा लगातारको खाद्य असुरक्षा, रोजगारी गुमाउने, उपभोग्य बस्तुहरूको उच्च मुल्य लगायतका कारणले गरिबी बढेको बेचारीले बताउनु भयो ।
सर्बेक्षणमा समेटिएका ठाँउहरूमा यो अवधिमा झण्डै तीस अर्व अमेरिकी डलर बराबरको आम्दानी गुमेको पाइएको छ । पहिला गुमेको आम्दानीलाई पुर्नपुर्ती गर्न धेरै गाह्रो हुने उनीहरूको भनाई छ ।
“गरिबी बढ्दै गएका ठाँउहरूको अवस्था सुधारका लागि र अझ बढी क्षति हुन नदिनका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ,” बेचारीले भन्नुभयो ।
सुरक्षा फौज र अन्तर्राष्ट्रिय सहयोगका कारण अहिले भने कैयौ विस्थापितहरू आफ्नै घरमा फर्किएका छन् ।
गत जुलाई १० मा प्रधानमन्त्री हैदर अल अबादीले मोसुललाई आईएस मुक्त क्षेत्रका रुपमा घोषणा गर्नु भएको थियो ।
तपाईंको प्रतिकृयाहरू

No comments:
Post a Comment