एउटी आमाको रोदन – पैसा नभएरै मर्ने भयो छोरो - KTV Khabar

Breaking

एउटी आमाको रोदन – पैसा नभएरै मर्ने भयो छोरो

;

 

बैतडी, साउन १८ – सन्तान जन्मेपछि आफूलाई बुढेसकालको साहारा हुन्छ भन्ने आशा सबै आमा बुवाको हुन्छ । उनीहरुको खुशीका लागि आफू भोकै बसेर मेहनत गर्न परे पनि गर्छन् ।
कसैले सोचेजस्तै छोराछोरीको साहरा पाउँछन् भने कसैलाई दैवले पनि बिचबाटोमै आँशुका धारा पिएर बाच्न बाध्य बनाउँछ । यस्तै भएको छ । पुर्चौडीका दुर्गा बमलाई । छोरा रक्त क्यान्सरबाट ग्रसित भएपछि बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीकी दुर्गा बमलाई रातदिन खाएको एक गास पनि आङ लाग्दैन । छोराको चिन्ताले खाना खानु नखानु एउटै भएको छ । १४ वर्षका छोरा जयन्त बम रक्त क्यान्सरबाट पीडित भएपछि अहिले छोराको सहयोगका लागि सबैठाउँ धाइरहेकी छन् । छोरा जयन्तको गएको १८ महिनादेखि काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

विस २०७२ सालको फागुन महिना अघिदेखि बिरामी भएको जयन्तलाई सुरुमा घरायसी उपचार गरिएको थियो । घरायसी उपचारले निको नभएपछि डडेल्धुराको एक मेडिकलले ब्लड क्यान्सरको भएको भनेर काठमाडौंस्थित कान्ति बाल अस्पतालमा लैजान सुझाएका थिए । विस २०७२ सालको फागुनमा उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गराएपछि आर्थिक अभाव हुँदा बिचमा उपचार गर्न छाडेर घर ल्याइएको थियो । जयन्तलाई अहिले पुनः कान्ति बाल अस्पतालमा भर्ना गरिएको आमा दुर्गाले बताउनुभयो । एक वर्षदेखि कान्ति बाल अस्पताल काठमाडौंमा उपचार गराइरहेका जयन्तको उपचारको लागि उनका परिवारले भएको सम्पति, जग्गा जमिनसमेत बिक्री गरेका छन् । ‘अहिलेसम्म छोराको उपचारमा ७ लाख खर्च भईसकेको छ’ उहाँले दुःखेसो पोख्नुभयो, ‘भएको जति सम्पती सबै बिक्री गरिसकेँ जग्गाजमिन केही बाँकी छैन । अब त मसँग केही छैन कसरी छोराको उपचार गर्नु ?’
जयन्तलाई पूर्ण रुपमा निको हुनको लागि ३ वर्ष २ महिना लगातार उपचार गराउनुपर्ने र त्यसको लागि २० लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले भनेको उहाँले सुनाउनुभयो । ‘अब अस्पतालमा कसरी राख्नु ? नराखौँ भने छोरालाई यसै केही नगरी गुमाउनुपर्ने । राखौँ भने आफूसँग सुक्को छैन । छोराको उपचारमा सबै सम्पति सकियो’ दुर्गाले भन्नुभयो । उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि सहयोग गरीदिन उहाँले सबैलाइ आग्रह गर्नुभएको छ।
२०७२ फागुन अगाडि हातखुट्टा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, शरीर भारी हुने लगायतका लक्षण देखा परेको थियो । यस्तो लक्षण देखा पर्दा सुरुमा घरायसी औषधी प्रयोग गरेको दुर्गाले भन्नुभयो । ‘घरायसी औषधीले राम्रो नभएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार गरायौँ । त्यहाँ पनि सञ्चो भएन । स्वास्थ्य चौकीको औषधीले पनि सञ्चो भएन । औषधीले सञ्चो हुनुको सट्टा झन थला पर्यो । छोरालाई धेरै दिन घरायसी र स्थानीय स्वास्थ्य चौकीको औषधीले सञ्चो नभएपछि डडेल्धुराको एक मेडिकलमा जाँच गराउँदा रक्त क्यान्सर भएको भन्दै एक दुई दिनभित्रै कान्ति बाल अस्पतालमा लैजान चिकित्सकले सुझाव दिएका थिए ।’
२०७२ फागुनमा काठमाडौंको कान्ति बाल अस्पतालमा जाँच गर्दा जयन्तलाई रक्त क्यान्सर भएको पुष्टि भएको थियो । जयन्त कान्ति बाल अस्पतालमा पुर्याउँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
अस्पतालमा भर्ना भइसकेपछि जयन्तलाई दिसापिसाव गर्न पनि झोलामा हालेर लैजानुपर्ने बाध्यता रहेको आमा दुर्गाले बताउनुभयो । ‘बाहिर भित्र लैजाँदा समेत झोलामा बोकेर गर्नुपर्ने थियो हिजोआज केही सञ्चो भएको छ’ आमाले भन्नुभयो ।
बैतडीको पुर्चौडी स्थित मेरो निमाविमा ८ मा पढिरहेका जयन्तले रक्त क्यान्सर हुँदा गएको वर्ष कक्षा ८ को परीक्षासमेत दिन पाएनन् । खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका बम परिवारले छोराको उपचारको लागि भारतका विभिन्न अस्पताल लगायत नेपालका अन्य अस्पतालमा समेत उपचारको क्रममा भएको जायजेथा सकिएपछि विभिन्न निकायसँग छोराको जीवन रक्षाको लागि आर्थिक सहयोगको याचना गरेका हुन् । जयन्तको उपचारको लागि सहयोग गर्न चाहनेले जयन्तको बुवाको नाममा नविल बैंक, कुलेश्वर, काठमाडौं शाखामा रहेको खाता नम्बर ३११००१७५०५०१७ सहयोग गर्न परिवारले आग्रह गरेका छन् ।

अमेरिकाबाट सहयोग
जयन्त बमको उपचारको लागि अमेरिकाको टेक्सासमा बस्दैका आएका गैरआवासीय नेपालीले स्थापना गरेको सुदूरपश्चिम समाजले आर्थिक सहयोग गरेको छ । समाजका सदस्य प्रेमशाहीले क्यान्सर पीडित जयन्तकी आमालाई दुर्गालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको समाजकी सचिव गुड्डी भण्डारीले बताउनुभयो ।
केही महिना अघि मात्र स्थापना भएको सुदूरपश्चिम समाजले गरेको सहयोगले जयन्तको उपचारको लागि थोरै भए पनि सहयोग पुग्ने दुर्गाले बताउनुभयो । सुदूरपश्चिमको विकास, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृतिको जगेर्ना गर्न उद्देश्यले स्थापना भएको संस्थाले स्थापनाको केही महिनामा क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्न पाएकोले खुशी लागेको संस्थाका सचिव भण्डारीले बताउनुभयो ।

साभार :- इन्द्रसरा खड्का /उज्यालो

No comments:

Post a Comment