बागलुङमा पहिरोमा परेर एकै परिवारको चारको मृत्यु - KTV Khabar

Breaking

बागलुङमा पहिरोमा परेर एकै परिवारको चारको मृत्यु

;

बागलुङ, २० साउन । बागलुङ जिल्लामा माथिबाट खसेको पहिरामा परी निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

अठसठ्ठी वर्षीय मणिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ । चारै जनाको शव घरभित्र पुरिएका अवस्थामा भेटिएको प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । नन्दकली र विन्दुको शव बिहान फेला परे पनि मणिमान र गीताको शव भने अपराह्न मात्र पहिराबाट निकालिएको थियो ।

पहिराले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ । उहाँकी श्रीमती र छोरी सकुशल रहेको तथा छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरामा परी बेपत्ता निसीखोला गाउँपालिका–१ हुल्दीकी ७५ वर्षीया खगिसराको पनि शव फेला परेको छ । यससँगै मृत्यु हुनेको संख्या छ पुगेको छ ।

बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बेपत्ता सिँजालीको बिहानैदेखि खोजी गरिरहेको थियो । भीषण वर्षापछि गए राति ठाउँ ठाउँमा गएको पहिराले धनजनको क्षति पुगाएको हो ।

निसीखोला–१ का हुल्दी, सल्लाबोट, देउरालीटोल, गाउँखर्क, नुन्थलालगायत ठाउँमा गरी १५० भन्दा बढी घरधुरी पहिराको जोखिममा रहेको प्रहरीले जनाएको छ । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

जमिन चिरा परेको हुँदा पानी पर्नासाथ पहिरो खस्ने डरले घर छाडेर स्थानीय बासिन्दा सुरक्षित ठाउँतिर गइरहेको इप्रका बुर्तिबाङका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

No comments:

Post a Comment