काठमाडौं । पछिल्लो समय कतारलाई कर्मथलो बनाउँदै आएकी लोक गायिका देविका केसी एक महिनाको नेपाल बसाइपछि पुनः कतार फर्केकी छिन् ।
नेपाली महिलाको महान चाड तीज केन्द्रित गीत रेकर्ड गर्नका लागि काठमाडौं आएकी देविकाले नेपाल बसाइको क्रममा तीजका दुईवटा र एउटा रोइला गीत रेकर्ड गरिन् । साथीहरुले अझै केही दिन बस्न आग्रह गर्दै थिए । तर, बित्यो भन्दै गइन् ।
श्रीमानको बिजनेस कतारमा भएकाले उतै बसोबास गर्न थालेकी देविकाको मन भने नेपालकै डाँडापाखामा घुमिरहन्छ । ‘म जहाँ गएर जति रमाईलो चीज हेरे पनि आफ्नो गाउँघर जस्तो रमाइलो कँही पनि लाग्दैन ।’ उनले भनिन् ।
वेलायत, अमेरिकालगायत अन्य धेरै मुलुक घुमेकी देविकालाई लाग्छ आफु पुगेको सबै ठाउँ विकासको हिसाबमा बाँडे गाउँ भन्दा माथि छ । देविका भन्छिन् ‘जहाँ जति विकास भएपनि मैले सिन्धुपाल्चोकको बाँडे गाउँ जत्तिकै रमाइलो अर्को ठाउँ भेटेको छैन ।’
चाड पर्वमा त उनलाई विदेश पटक्कै मन पर्दोरहेनछ । केही वर्षको दसै र तिहार कतारमै मनाएकी देविकाले विदेशमा मानिने चाड पर्वमा पटक्कै रंग नभएको अनुभव गरेकी छिन् ।
‘म मात्रै हैन कतारमा धेरै हुनुहुन्छ । चाड पर्वमा रमाइलो पनि गर्नु हुन्छ । तर, यहाँ जस्तै रमाइलो भेटिँदैन ।’
पहिलो वर्ष कतारमै दसै मनाउने निर्णय भएपछि आफ्नो घर रंग्याएको झल्झली सम्झेकी थिइन् । दसै आउनु केही दिन अघिदेखी आमा, भाउजु लगायतका ब्यक्ति मिलेर घर रंग्याउने चलन छ ।
यसपालीको तीजमा पनि उनले गाउँको हाल खबर फोनमै सोध्ने भएकी छिन् । कतारमै आयोजित केही तीज कार्यक्रममा सहभागी भएपछि उनी जापान, क्यानडा लगायतको मुलुकमा पुग्नेछिन् ।
ति मुलुकमा रहेकी नेपाली दिदी बहिनीलाइ गीत सुनाएपछि आफन्तलाइ फोन गर्ने योजनामा छिन् । ‘जुन देशमा हुन्छ त्यहाँको कार्यक्रम सकिएपछि साँझपख फोन गर्छु ।’ तीजको दिनको सेड्युल सुनाउदै भनिन् ।

No comments:
Post a Comment