बाढी प्रभावित क्षेत्रमा दुई मन्त्रीको निरीक्षण, बाढीपीडितलाई दिए यस्ता आश्वासन - KTV Khabar

Breaking

बाढी प्रभावित क्षेत्रमा दुई मन्त्रीको निरीक्षण, बाढीपीडितलाई दिए यस्ता आश्वासन

;

 

धनुषा, ३१ साउन– धनुषाका विभिन्न क्षेत्रमा बाढीले पुर्याएको क्षतिको सोमबार खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र कृषि मन्त्री रामकृष्ण यादवले निरीक्षण गरेका छन् ।
गृह जिल्ला धनुषा नै रहेका मन्त्रीद्वयले जनकपुर उपमहानगरपालिकाको बाढी प्रभावित क्षेत्र – पुलचोक, मुसहरी टोल, मुजेलिया, लक्ष्मीनियाँसहितका दर्जनभन्दा बढी स्थानमा स्थलगत निरीक्षण गरे ।
खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार आफूहरु धनुषा आएको बताउँदै बाढीका कारण उत्पन्न संकट समाधान गर्न सरकार जोडतोडका साथ लागिरहेको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले बाढीबाट भएको क्षतिको विवरण संकलन गरी अविलम्ब पीडितलाई सहयोग गर्ने सरकारले तयारी गरेको जानकारी दिए ।
तराईका १३–१४ जिल्लामा सरकारले संकटको स्थिति अनुभव गरेको उल्लेख गर्दै खानेपानी मन्त्री यादवले प्रभावितलाई शुद्ध खानेपानीको व्यवस्था गर्नका लागि आवश्यक औषधि वितरण कार्यसमेत भइरहेको बताए ।
त्यसैगरी, कृषि मन्त्री रामकृष्ण यादवले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको परिवारलाई प्रतिपरिवार राहतस्वरुप रु दुई लाख नगद उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । उनले पीडित परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिइएको बताए ।
मन्त्रीद्वयले बाढीले क्षति पुर्याएको पूर्व–पश्चिम राजमार्ग सडकखण्डको धनुषा–महोत्तरी जोड्ने रातु पुलको पनि निरीक्षण भ्रमण गरेका थिए ।

लोकान्तरको सहयोगमा

No comments:

Post a Comment