काठमाडौं । कलाकार दयाहाङ राई । उनी अभिनित सिनेमा ‘लालटिन’ यतिबेला हलमा छ र सिनेमाले राम्रो प्रतिक्रियासँगै ब्यापार पनि गरिरहेको छ । थियटर हुँदै सिनेमामा आएका दयाहाङ राई अभिनयसँगै नाटकको स्क्रिप्ट लेख्ने काम पनि गर्छन् । सानैदेखि पढाईमा भन्दा पनि अरु कुरामा धेरै ध्यान दिने भएका कारण उनी एसएलसीमा फेल भए जसबाट उनले धेरै कुरा सिक्ने मौका पाए । विज्ञान विषयका कारण एसएलसीमा फेल भएका उनी सानैदेखि प्राविधिक कुरामा धेरै चासो दिन्थे । उनी विभिन्न प्रयोग र आविष्कार गर्न रुचाउथेँ । उहाँसँग हामीले गरेको कुराकनीको अंश यस्तो छ ।
“लालटिन” कस्तो भइरहेको छ ?
लालटिन एक थ्रिलर सिनेमा हो । यसको छायाँकन धेरै अघि भएको थियो । जेठ २६ गते सिनेमा रिलिज भएको छ र सबैले माया पनि गरिरहनु भएको छ ।
सिनेमा भन्दा बाहिर जाउँ, आफ्नो बारेमा नचाहिने हल्ला आउँदा कस्तो लाग्छ ?
खुशी लागेर पनि के गर्नुे दुखी भएर पनि के गर्नु । सत्य कुरा जहिले पनि आफूलाई मात्रै थाहा हुन्छ । कुनै असत्य कुरा बाहिर जाँदा दुःख त लागिहाल्छ । तर, बाहिर पनि यो कुरामा कत्तीको सत्यता छ भनेर त्यो कुरा गर्ने मान्छे आफैले महसुस गर्नहुन्छ होला ।
कलाकारको पनि आफ्नो पारिवारिक जीवन हुन्छ । मिडियामा आएका गसिपले वास्तविक जीवनमा कत्तिको प्रभाव पार्छ ?
एउटा मिडियामा आएको गसिपले मानसिक, सामाजिक र पारिवारिक असरहरु कस्तो हुन्छ भन्ने कुरा स्वयम् भोग्ने मान्छे बाहेक अरुले त्यति अनुभव गर्न सक्दैनन् । जहाँसम्म प्रियंका र मेरो बारेमा धेरै गसिपहरु आए । म यो सबै कुरालाई सामान्य रुपमा लिन्छु । गम्भीर रुपमा हेर्ने हो भने बारम्बार असत्य कुरा गरेर मिडियामा विकाउ समाचार बनाउनु भनेको त्यो प्रियंका माथि गरिएको एक किसिमको हिंसा हो । यसले समाजमा हरेक महिलालाई हेर्ने दृष्टिकोण अझै पनि कस्तो छ भनेर प्रष्ट देखिन्छ । हामीले कसैको बारेमा चर्चा वा समाचार बनाइरहदा उनको परिवारमा कति असर परेको छ भनेर ख्याल नै गर्दैनौँ । बिकाउको पछि लाग्दा मानसिक रुपमा धेरै असर पर्ने गर्छ ।
बाल्यकालको बिर्सनै नसक्ने पल के थियो ?
मेरो बाल्यकाल खोजी गर्दै बित्यो । अनौठो वस्तुसँग मेरो लगाव थियो । मिलेको ढुङ्गा वा रुखको कलेक्शन गर्न मलाई एकदमै मन पर्थ्यो । सात आठ कक्षा पढ्दा सम्म त्यही कलेक्शन गर्दै ठिक्क भयो । मास्टर ढुङ्गाहरु नाप्न मैले आफैले तराजु बनाएको पनि छु ।
मन पर्ने खेल?
एक्टर बन्छु भनेर ढिसुम् ढिसुम् कहिल्यै गरिन । खेलमा मलाई चोर पुलिस निकै मन पर्थ्यो । त्यसमा म सधै चोर बनेर खेल्थेँ ।
स्कुलमा गरेको के कुरा एकदमै याद आउँछ ?
स्कुलमा आँखा छोपेर साथी भाइहरु कुट्ने काम खुब गरियो । चकचकको त कुरै नगरौँ । म एकदमै चकचके थिएँ स्कुल पढ्दा । एक जना मेरो भाईसँग मेरो निकै झगडा पर्थ्यो । एक दिन मेरो एउटा काकाले नुहाउन जाँदा कपडा ढुङ्गाको माथि राख्नुभएको थियो । अनि हामी पनि गाई बाख्रा चराउनको लागि त्यतै गएका थियौँ । मेरो भाइले काकाको कपडा खुकुरीले काटिदियो । मैले त्यसलाई त्यसो नगर भन्दा फेरि त्यहिसँग मेरो झगडा पर्छ भनेर मैलै केही पनि भनिन । अझ गर भनेर ईशारा गरेको थिएँ । उसले फेरि कपडा काट्यो । मैले उसलाई सपोर्ट गरेझैँ लागेछ उसलाई त्यहि कारण ऊ मसँग नजिक पनि भयो । तर पछि काकाले हाम्रो त्यो बदमासी घरमा भनिदिनु भयो । अहिले त्यो पल सम्झिँदा अनौठो लाग्छ ।
माया प्रेममा पर्नुभयो कि भएन ?
यो सबै कुरा सामान्य हो । म पनि कोही प्रति निकै आर्कषित भएकोे थिएँ । तर, मैले कहिल्यै पनि प्रस्ताव गरिन । अहिले पनि उहाँसँग कहिले काही भेट हुन्छ ।
पहिलो प्रमेको खुशी कस्तो थियो?
मैले पहिलो प्रेमिकालाई गुमाएँ । त्यसरी मन पराउँछु भनेर सोचेको पनि थिईन । सायद उनीमा केही फरक कुरा भएका कारण यस्तो भएको होला । तर पछि पनि फेरि मैलै मन पराएकै मान्छे पाएको छु ।
पहिलो डेटिङ्गको अनुभव कस्तो थियो ?
यसमा पनि म अलिफरक किसिमको मान्छे । डेट भन्ने बित्तिकै पार्क, कफीशप वा सिनेमा हलमै जानुपर्छ जस्तो मलाई लाग्दैन । नाटक हेर्नु, पेन्टिङ्ग गर्नु, गीत सुन्नु पनि डेटिङ्गको भाग हो जस्तो लाग्छ । नियमित रुपमा रोमान्टिक नभएपनि आफ्नो पारामा चाही म रोमान्टिक छु जस्तो लाग्छ ।
पहिलो चोटी ससुराली जादाँको खुशी कस्तो थियो ?
सन् २०६५ सालमा मेरो विवाह भएको हो । विवाह पछि त्यो नयाँ परिवार र नयाँ सम्बन्ध पाउँदा खुशी महसुस हुँदो रहेछ ।
प्रेम विवाह गर्दा केही बाधा आए की आएनन् ?
त्यस्तो बाधा केही पनि थिएन । प्रेम सँगसँगै परिवारसँग पनि हामीले कुरा गरिसकेको थियौँ । नजान्दा नजान्दै एक अर्कालाई बिस्तारै खुलाउँदै गयौँ । परिवारमा सबै जनाले केरकार गर्दै जानुभयो । बिस्तारै सबै कुरा अगाडि बढ्दै गयो । त्यस्तो केही पनि बाधाहरु आएनन् ।
जीवनमा पाउनु भएको सबै भन्दा ठूलो खुशी के हो?
श्रीमतीलाई पाएको पल मेरो लागि निकै खुशीको समय थियो । उनले मलाई जुन समय देखि सहयोग गर्दै आएकी थिईन्, हामीले जुन दिन सगै बस्ने निधो गर्यौ त्यो नै हो ।
भाउजूको खुशीको लागि के के गर्ने योजनामा हुनुहुन्छ ? केही गर्नुपर्छ जस्तो लाग्दैन ?
उसको खुशीको लागि त्यस्तो कुनै काम गर्न सकेको छैन । उसले मेरो लागि मात्र गरेको छ । हाम्रो आफ्नो आन्तरिक योजना चाही चलिरहेको छ । अहिले उसको संगीतकै थेसिस बाँकी छ ।
५ देखि ६ महिना जति लाग्छ होला । त्यसपछिको उसको योजना उसले म सँग सेयर गरेको छ । त्यसमा मैले कसरी काम गर्न सक्छु भन्ने बारेमा म सोची रहेको छु ।
जिन्दगीको सबै भन्दा ठूलो उपहार के हो?
मेरो परिवार ।
जिन्दगीमा भेटेका अनौठा फ्यान ? फ्यानहरुले दिने खुशी के हो?
त्यस्तो घटना धेरै छ । त्यो कुरा गोप्य नै राखौँ होला । त्यो कुरा सम्झेर उहाँ दुःखी हुनुहोला । मैले कती पटक त उहाँहरुलाई गाली पनि गरिदिएको छु । फ्यानले दिने खुशी भनेको चाहि काम गर्ने उर्जा हो ।
पर्दामा देखिने दयाहाङ राई र वास्तविक जीवनको दयाहाङ राईमा के फरक छ ?
मान्छेको स्वभाव आफ्नो–आफ्नो हुन्छ । सिनेमामा जे गर्छ चरित्रले गर्छ । चरित्रको लागि मैले काम गर्नुपर्यो । वास्तविकता भने म आफैसँग हुन्छ ।
कस्तो कुराले चित्त दुख्छ तपाईंलाई ?
त्यो फिल भएको मान्छे हो म । म पनि रुन्छु । फेरि रुनु पर्दा एक्लै रुने मान्छे पनि हुँ म । मन खाने भनेको परिवार हो तर परिवार बाटै म धेरै टाढा बस्छु । परिवारलाई पर्याप्त समय दिन सक्दिनँ । त्यतिबेला आफ्नो जिम्मेवारी, कर्तव्य, भूमिका निर्वाह गर्न नसक्दा चाही म बुबा, आमा, छोरा, श्रीमती र दाईहरुलाई सम्झेर धेरै सम्झन्छु । अनि एकैछिनमा फेरि सम्हालिन्छु ।
भाउजूको अगाडि रुनुभएको छ ?
कति पटक त ऊ सँग पनि रोएको छु । म दु खी हुदाँ ऊ पनि हुन्छ । कतिपय बेलामा चाहीँ एक्लै रोएको छु ।
उज्यालोको सहकार्य

No comments:
Post a Comment