काठमाडौं, साउन १८ – फोनमा कुराकानी हुँदाहुँदै बिष्णु र बानुको माया बसेको थियो । फोनमा कुरा हुँदा झाँगिएको प्रेम त्यतिमै मात्र सिमित रहेन । बिष्णु कुवेतबाट नेपाल फर्कदा बानु तीन महिनाकी गर्भवती थिइन् । उनी गर्भवती भएको थाहा पाएपछि २०७० कात्तिकमा उनीहरुले नेपाल फर्केर विवाह गर्ने सल्लाह गरे ।
‘काठमाडौंमा बिहे गराैंला, तिमी छिट्टै बिदा मिलाएर आउनु’ धादिङ घर बताउने बिष्णुले सुनसरीकी बानु सरदार (नाम परिवर्तन)लाई बिहे गर्ने आश्वासन दिएर कुवेतबाट नेपाल फर्के । बिष्णु हिँडेपछि बानुलाई पनि जतिसक्दो चाँडो नेपाल फर्कनु थियो र बिष्णुसँग बिहे गर्नु थियो । बिष्णु त हलुको ज्यान लिएर फर्किए । तर बानु कसरी फर्कनु । घरेलु काम गर्ने बानु परदेशमा गर्भवती भएकी थिइन् । उनी ५ वर्षदेखि कुवेतमा घरेलु काम गर्थिन् । २०६६ सालमा १६ वर्षकै उमेरमा भारतको बाटो हुँदै उनी कुवेत गएकी थिइन् । कुवेत पुगेको चार वर्षपछि उनको बिष्णुसँग माया बसेको थियो ।
घरेलु काम गर्ने बानु । अनि कम्पनीमा काम गर्ने बिष्णु । अरुले नम्बर दिएको भन्दै विष्णुले बानुलाई फोन गर्न थालेका थिए । मन मिलेपछि कसले छेक्ने । घरभित्रै काम गर्ने भए पनि बानुले लुकेरै बिष्णुसँग माया गाँसिन् । उनलाई भेट्न बिष्णु उनले काम गर्ने घरमै आउँथे । सबैजना सुतेपछि सुटुक्क आउने बिष्णु अरु उठ्नु अघि नै घरबाट निस्कन्थे ।
बिष्णु घरमा आउँदा कसैले देख्ने डर थियो । तर बाहिर भेट्न नपाउने भएपछि विकल्प थिएन् । फेरि बिष्णुले बानुलाई मायाको भर दिलाएकै थिए । उनले फोनमा गर्ने कुरा र भेट्दा गर्ने व्यवहार देख्दा बानुले शंका गर्ने ठाउँ थिएन । बिष्णुको चलाखी उनले बुझिनन् । प्रेमिका गर्भवती भएको थाहा पाएपछि बिष्णु कुवेतबाट भागे । उनले फर्कने बेलामा बानुसँग भएको पैसा, मोवाइल र कपडा पनि लिएर आए । बिष्णु हिँडेपछि सबै समस्या सम्हाल्नु पर्ने भयो बानुले । साहुनीले गर्भवती भएको थाहा पाए के गर्लिन्, बानुले सोच्न पनि सकेकी थिइनन् । तर साहुनीले उनलाई नेपाल फर्कन सहयोग गरिन् ।
कमाउन गएकी बानु चार महिनाको गर्भ लिएर नेपाल फर्किन् । तर उनीहरुको सल्लाह अनुसार बिहे हुन सकेन । बिहे गर्न काठमाडौंमा कुर्छु भनेका बिष्णुको अत्तोपत्तो थिएन । नेपाल आएपछि बिष्णुको पहिल्यै बिहे भइसकेको बानुले साथीमार्फत थाहा पाइन् । बिष्णुले नेपाल आएपछि बानुसँगै काम गर्ने साथीलाई फोन गरेर आफूले पहिल्यै बिहे गरेको बताएछन् । बिष्णुले गरेको त्यो नम्बरमा फेरि फोन लागेन । जाली मायामा फसाएर बिष्णु बानुको जीवनबाट टाढा भइसकेका थिए । तर सोझी बानुले उनै जाली प्रेमीको फोन कुरिरहिन् । २०७१ साउनमा बानुले छोरी जन्माइन् । छोरी अहिले तीन वर्षकी भइन् ।
तर अहिलेसम्म बिष्णुको अत्तोपत्तो छैन् । बानु उनैलाई कुरीरहेकी छिन् । सुनसरीको माइती घरमा भेटिदा उनी घरको दलान उभिएर टोलाइरहेकी थिइन् । घुडासम्म आउने मैलो निलो टिसर्ट, टिपिक्क परेको कालो सुरुवालले पातली डालको बानुलाई सुहाएको छ । कपाल धेरैदिन देखि ननुहाए झैं देखिन्छ । गुलावी रङको बुट्टे सर्ट र सुरुवाल लगाएकी उनकी छोरी यताउता कुदिरहन्छिन् । बिहे नभइ २१ वर्षमा बानु आमा बनिन् । छोरीको बावुको टुंगो छैन । बानुले बिष्णु नाम बताए पनि त्यो मानिस को हुन भन्ने कसैलाई थाहा छैन् । बानुले उनलाई खोज्न पनि सक्दिनन् । फेरि परदेशमा गर्भवती बनाएर भाग्नेले उनको बारेमा सत्य कुरा बतायो होला र । सुकिलो बानुको जीवनमा बिष्णुले होली खेले ।
जसको दाग बानुको जीवनमा गाढा बसेको छ । बिहे नभइ आमा बन्दा समाजले लगाउने दाग पनि त्यसमा थपिएको छ । बानुको छोरीलाई देख्दा छिमेकीले कुरा काटछन् । ‘रक्सी खाएपछि के के भन्छन्, विदेशबाट पेट बोकेर आएकी भन्छन्,’ बानुले मुन्टो झुकाइन् र भनिन्, ‘छोरीलाई पनि के के भन्छन्, यसले त केही बुझ्दिन ।’गाउँलेले नराम्रो भन्दा र केटाहरुले गलत नजरले हेर्दा बानु बिष्णुलाई सम्झिन्छिन् । बिष्णुले बिहे गर्छु भनेर देखाएका सपना उनले बिर्सिएकी छैनन् । अझ उनको सपना झाङ्गिएको छ । उनको सपनामा छोरी थपिएकी छिन् । बानुलाई अझै कतैबाट बिष्णु आइहाल्छन कि झैं लाग्छ ।
बानुलाई छोरीको अनुहार देख्दा बिष्णु देखे झैं लाग्छ । ‘यो पनि बाउ जस्तै छे, मुख त ठ्याक्कै मिल्छ, मोटो मोटो होचो होचो छ,’ बानुले काखमा बसेकी बसेकी छोरीको कपाल सुम्सुम्याउँदै बिष्णुसँग दाँजिन् । अघिसम्म लजाउँदै बिष्णु र आफ्नो प्रेम कहानी सुनाइरहेकी बानुको अनुहारको रङ त्यतिबेला बद्लियो । गाउँमा सबै भन्दा चिटिक्क परेको बानुको बुवाको यो घर उनकै कुवेतको चार वर्षको कमाइले बनाएको हो । उनको कमाइले बनेको घर मुसहर बस्तीमा अरु भन्दा बेग्लै छ । बानुले बिष्णुसँग मायामा परेपछि भने पैसा पठाइनन् । बानुको एक वर्षको कमाइ पनि खाएर भागे बिष्णु ।
बानुलाई हिजोआज दैनिक खर्च पनि चलाउन गाह्रो छ । बेलाबेलामा मेलापात जान्छिन् । त्यहाँबाट आएको पैसाले खर्च चलाउँछिन् । बानुका दुई आमा छन् । उनी जेठी पट्टिकी जेठी छोरी हुन् । उनका दुवै आमा कुवेतमा नै छन् । बानुलाई फेरि विदेश जान मन छ । कुवेतमा काम र कमाइ राम्रो हुँदाहुँदै पनि बानुलाई बिष्णुले फसाए भन्ने लाग्छ । अब भने उनलाई विदेश गएर बिग्रिएको जीवन उकास्न मन छ ।
तर बानुको बुवाले वैशाखमा बिहे गरिदिने तयारी गर्दैछन् । उनलाई भने छोरी छाडेर बिहे गर्ने मन छैन् । त्यसैले पनि बानु वैशाख अघि नै विदेश जान चाहन्छिन् । उनको बुवा बानुको विदेश जाने शब्द पनि सुन्न चाहदैनन् । भर्खरै २४ लागेकी बानु आमाको भूमिका निभाउन चाहन्छिन् । तर परिवारका सबैजनाको चाहना बानुको बिहे गरिदिने छ । बानुलाई त परिवारले बिहे गरिदेलान्, नयाँ परिवारसित उनी रमाउलिन् । तर बानुलाई आफ्नो भन्दा धेरै चिन्ता बेपत्ता बावुकी छोरीको भविष्य के होला भन्नेमा छ ।ujaalo

No comments:
Post a Comment