काठमाडौं, २२ साउन । ‘तँ बुढिकन्या हुने भइस्, लाहुर गएर आएकी तँलाई कसले बिहे गर्छ,’ विदेशबाट फर्केर आएपछि आफ्नै काकीले भोजपुरकी उर्मिलालाई यस्तो वचन लगाइन् । काकीले यस्तो वचन लगाउलिन भन्ने उनले एक मनमा पनि सोचेकी थिइनन् । काकीले मात्र हैन गाउँका अरुले पनि उर्मिलालाई यस्तै व्यवहार गरे।
२०६९ सालमा कतार गएकी उर्मिला २७ महिना पछि घर फर्केकी थिइन् । उनी घरेलु काममा कतार गएकी थिइन् । उर्मिला पनि अरु जस्तै कमाउनकै लागि परदेश गएकी थिइन्। कमाउन गएका अ? लोग्ने मान्छे विदेशबाट फर्कंदा गाउँलेले स्वगत गर्थे । तर उनी फर्कंदा अर्कै ग्रहबाट आएको मान्छेलाई झैं व्यवहार गरे।
सात जना दिदीभाइमध्ये काँइली छोरी उर्मिलाले गाउँमै एसएलसीसम्म पढिन् । त्यसपछि परिवारको पढाउन सक्ने अवस्था थिएन् । उर्मिलाले इटहरी नजिकैको शहरमा बसेर पोते उन्ने काम गर्थिन् । सँगै काम गर्ने साथीले विदेशमा धेरै कमाइ हुन्छ भनेपछि उनी विदेशमा हुने कमाइको लोभमा विदेश गएकी थिइन्।
२७ महिना कतारमा काम गरेर फर्कदा सबैले गरेका व्यवहारले उनलाई विदेश गएरै ठूलै पाप गरेछु भन्ने लाग्यो । उनलाई अहिले पनि विदेश गएरै ठूलै गल्ती गरेछु भन्ने लागिरहन्छ । विदेशमा सहेका सुखदुःखबारे उनलाई कसैले सोधेनन् । फेरि विदेशबाट फर्कना साथ बिहेकै बारेमा गाउँलेले त्यतिधेरै किन सोचे भन्ने उनले बुझिनन् । उनलाई विदेशमा रोजगारी गरेर फर्किएकै कारण अहिलेसम्म भोग्नुपरेका अनेकौं आरोप र व्यवहार देख्दा लाग्छ केटी मान्छे विदेश जानु भनेकै बिग्रनु हो भन्ने जस्तो लाग्छ।
२०७२ साल मंसिरमा कतारबाट आएकी उर्मिलाको माघमा बिहे भयो । विदेशमा बिग्रेकी केटीलाई कसले बिहे गर्छ भन्ने समाजको अघि उनको बिहे भयो । समाजका मान्छेले बिग्रिएर फर्किएको आरोप लगाएपनि उनको श्रीमान्लाई उर्मिला विदेशबाट फर्किएकोमा कुनै आपत्ति थिएन।
गर्भ खेर गयो, कुरा काट्ने मेलो पाए गाउँलेले उनको वास्तविकता स्वीकार गर्ने श्रीमान् मात्रै थिए । श्रीमानले राम्रो व्यवहार गरेपनि परिवारका सदस्यले भने माइती गाउँकाले गर्ने भन्दा फरक व्यवहार गरेनन् । एक्लो सहारा बनेका श्रीमान् बिहे भएको २ महिना पछि विदेश गए । त्यसपछि उनको जीवनमा अनेक उतारचढाव आए ।
श्रीमान् विदेश जाँदा गर्भवती रहेकी उर्मिलाको केहिदिन पछि गर्भ खेर गयो । के निहुँ पाउँ भन्दै बसेका आफन्त र छिमेकीलाई अरु के चाहियो र । कुरा काट्ने खुराक पाए । ‘बुढो विदेश गएपछि, गह्रौं बोक्नै पर्याे, साइकल पेल्न पर्याे । तर अरुले विदेशमा ज्यान बिगारेर बच्चा खेर गएको भने । उर्मिलाले मसिनो स्वरमा भनिन्, ‘गर्भ खेर गएपछि मलाई जिन्दगी नै बेकार भएजस्तो लाग्यो ।’
गर्भ खेर गएपछि उनलाई सबैले खराब भने । एक त विदेशमा बिग्रेकी भन्थे, त्यसमाथि गर्भ खेर गएपछि साँच्चै बिग्रिएको प्रमाणित भए झैं गरे समाजका मानिसले । उनलाई गाउँघरमा अनुहार देखाएर हिँड्न पनि अप्ठेरो भयो । त्यसै त गर्भ खेर गएपछि गलेकी उर्मिला सबैले गर्ने व्यवहार र घृणाले झनै गलिन् । सुखदुःखमा साथ दिने श्रीमान् पनि सँगै थिएनन् ।
२ वर्ष पछि गएको वैशाखमा उनका श्रीमान् नेपाल फर्किए । २ महिनाको छुट्टि पछि उनी फेरि मलेसिया फर्किएका छन् । प्लम्बरको काम गर्ने उनको श्रीमानको कमाइ पनि राम्रो छ ।केही गर्ने उर्मिलाको आँटमा श्रीमानले मलजल त गरेका छन्, तर उनलाई समाजमा बसेर अघि बढ्न निकै गाह्रो भएको छ । पहिलो गर्भ खेर गएपछि पनि उनले गरेको प्रगतिले समाजको मुखमा बुझो त लाग्यो, तर दोस्रो पटक पनि गर्भ खेर गएपछि भने फेरि समाजले गर्ने व्यवहार उही भएको छ ।
उनलाई पनि पटकपटक गर्भ खेर जाँदा दिक्क लागेको छ । तर उनलाई विदेश गएकै कारण गर्भ खेर गयो जस्तो लाग्दैन् । उनको कुरामा श्रीमान् पनि सहमत छन् । उर्मिला लगातार बच्चा खेर गएपछि निरास छिन् । तर उनलाई श्रीमानले सम्झाउछन् । उर्मिलाले भनिन् ‘बुढोले त हाम्रो बच्चा हुनै पर्छ भनेका छैनन् ।’
श्रीमानले त्यसो भनेपनि उर्मिलाको चित्त बुझ्दैन् । सासुससुराले छोराको अर्को बिहे गरिदिने भन्दा उनलाई छटपटि हुन्छ । स्वर मधुरो पारेर उर्मिला बोलिन्, ‘ मेरो बच्चा नहोला जस्तो छ, श्रीमानको बिहे अर्कैसँग गरिदिने हुन कि भन्ने डर लाग्छ ।’
उर्मिलाको कतार यात्रा विदेशमा पनि उर्मिले दुःख पाइन् । घर फर्किएपछि पनि उनलाइ भाग्यले ठग्यो । १० कक्षा पढेर धरान झरेकी उर्मिला पोते उन्ने काम गर्थिन् । सँगै काम गर्ने साथीका आफन्तले विदेशको लोभ देखाए । विदेशमा धेरै कमाइ हुने भएपछि उनले दलाललाई ४० हजार रुपैयाँ बुझाइन् । तर ती दलालले कतार पुर्याएनन् ।
आजभोली भन्दै दलालले चार महिना दिल्लीमा थुनेर राखे । दिल्लीको चार महिनाको बसाइ पशुको झैं थियो । चार महिना पछि उर्मिला सहित धेरै जना त्यहाँबाट भागेर नेपाल आए । उर्मिला भोजपुर गइनन् । काठमाडौंबाटै अर्को दलालले उनलाई त्यसको १५ दिनमा कतार पठाए । कम्पनीको काममा ११ सय रियाल मासिक तलव भनेर उनलाई घरेलु काममा पठाए ।
घरको काम, साहुसाहुनीको पिटाई उर्मिला घरबाट हिँडेको पाँच महिनामा कतार पुगिन् । १० कक्षा पढेपनि उनले परदेशमा भाँडा माझ्न नजान्दा कुटाइ सहनु पर्योम । साहुका छोरीहरुले नराम्रो व्यवहार गर्थे । कुटाई खान उनले कुनै गल्ती गर्नु पर्दैनथ्यो । उर्मिलालाई ती दिन सम्झदा अझै पनि शरीर दुखेको महसुस हुन्छ ।
उनले पेटभर खान पनि पाइनन् । भोको पेटमा कसरी काम गर्नु । काम गर्न नसक्दा साहुसाहुनीले तल्लोस्तरको शब्द प्रयोग गरेर गाली गर्थे । ‘साहुनी र उनका छोरीहरुले काम गर्न नसक्ने, खान नपाएर आएकी, कुकुर्नी भनेर गाली गर्थे । पहिले त के भनेका हुन् केही बुझिन, भाषा बुझेपछि म त कत्ति रुन्थें, उर्मिलाले सुनाइन् ।
उनलाई घरमा फोन गर्न दिइन्नथ्यो । केही सामान फुटेपनि उनकै तलवबाट काटिन्थ्यो । वासिङ मेसिन बिग्रदा उनको एक महिनाको तलव काटियो । त्यसपछि उर्मिलाले काम गरिनन् । यति भएपछि उनलाई साहुले घर पठाइदिए । र श्रीमानको साथ ‘कुकुर्नी’ बनेर परदेशमा गरेको दुःख श्रीमानले त बुझे, तर समाजले बिग्रिएर आएकी केटीको उपमा दिए । गर्भ खेर गएको केही समयसम्म उनलाई निकै गाह्रो भयो । तर उनले हिम्मत हारिनन् ।
कतारको २७ महिनाको कमाइले उनले सुनसरीमा घडेरी किनिन् । श्रीमानले मलेसियामा कमाएको पैसाले तीनकोठे घर पनि बनाइन् । समाजले बिग्रेकी भनेपनि उनको घर धानिरहेकी छिन् । सात समुन्द्र पारी बस्ने श्रीमानको साथले उनलाई समाजसँग लड्ने अाँट दिएकाे छ । अाखिर त्यै समाजमा बसेर जिउनु त छँदैछ।
नयापुस्ताबाट ।

No comments:
Post a Comment