जीवित आमाबुवाका टुहुरा छोराछोरी : जो पढ्न चाहन्छन्, तर पढाइदिने कसले ? - KTV Khabar

Breaking

जीवित आमाबुवाका टुहुरा छोराछोरी : जो पढ्न चाहन्छन्, तर पढाइदिने कसले ?

;

 

बैतडी, भदौ ७ – शिशु जन्मेको छ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्छ । ६ महिनापछि आमाको दुध पर्याप्त मात्रामा नआए गाई, भैंसीको दुध खुवाउन सकिने स्वास्थ्यकर्मी बताउँछन । तर बैतडीकी कविता लावडका हकमा यो स्वास्थ्यकर्मीको भनाई मात्र हो । उनले जन्मेको ६ महिनासम्म पनि आमाको दुध राम्रोसँग खान पाइनन् ।
दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखालीमा हजुरआमा र हजुरबुवासँग रहने कबितालाई जन्मेको केही महिनामै आमाले छाडेर अर्कैसँग गइन । बुवा त्यसअघि नै भारतमा रोजगारी गर्न गएपनि अहिलेसम्म फर्केका छैनन् ।बुवा भारतबाट नफर्केपछि जन्मदिने आमा अर्कैसँग विवाह गरेर गएको उनकी हजुरआमा धौली लावड बताउनुहुन्छ । ‘सानैदेखि टुहुरी जस्तै भएकी छे । अहिले अलि ठुली भएर अरु खाना पनि खान थालेकी छे । तर सानैमा निकै दुःख दिई’ उनले भनिन् ।
कविताका बुवा केशव लावड धौलीका जेठा छोरा हुन । छ सन्तानलाई जन्मदिएकी धौलीले अरु सन्तानको जिम्मेवारी र आफ्नो सपना जेठा छोरा पूरा गर्ला नि भन्ने आशमै हुनुहुन्थ्यो । तर सबै सोचेजस्तो कहाँ हुन्छ र ?१७ वर्षकै उमेरमा आफैंले विवाह गरेको छोरो रोजगारीका लागि भारत गएर हरायो । ‘भारत पसेका दुई तीन महिनासम्म त फोन आउँथ्यो । सञ्चोबिसन्चोको कुरा पनि सुनाउँथ्यो’ निराश अनुहार बनाएर उहाँले भन्नुभयो ‘तर त्यसपछि त न फोन न सञ्चो विसञ्चो । अहिले पाँच वर्ष पुग्यो । छोरो जिउँदै छ कि मरिसक्यो । केही थाहा छैन ।’

हजुरबुवाको चिन्ता : नातिनीलाई कसरी पढाउने ?
‘एकातिर छोराको चिन्ता, अर्कोतिर बुहारी अर्कैसित जाँदा नातिनीलाई कसरी पाल्ने भन्ने चिन्ताले अहिलेसम्म पनि पिरोलेको छ’ कबिताका हजुरबुवा कृष्ण लावडले भन्नुभयो ‘आमाले दुध चुसाउनेबेला चटक्क छाडेर गएपछि उसको सास जसोतसो बचाई राखेका छौँ ।’
तीनवर्ष पुगेकी कविता अहिले भात, रोटी खान थालेकी छन । ‘अब आफूलाई मर्ने डर छैन । तर उसलाई कसरी पढाउने र लेखाउने हो ?अर्को चिन्ता थपिएको छ’ हजुरबुवा कृष्णले भन्नुभयो ‘आफूलाई दुई छाक खान धौ धौ छ । यसलाई कसरी पढाउँ ?’

चट्याङले घाइते छन दुबै बुढाबुढी
गएको असारमा घरमा चट्याङ पर्दा दुबै जना बुढाबुढी घाइते छन । पानी परिरहेका बेला एक्कासी परेको चट्याङले धन्यै ज्यान लिएन । त्यो चोटले अहिले पनि धौली कान सुन्नुहुन्न । कृष्णलाई भने त्यति चोट छैन ।
घरमा चट्याङ परेको भन्दा नातिनीको भविष्यमा अहिलेदेखि नै पर्न थालेको समस्याले दुवै बुढाबुढीलाई पिरोलेको छ । तर विकल्प केही छैन । आफूले जे जसरी दिन काटेपनि नातिनीलाई कसैले पढाई दिएधर्म लाग्ने कृष्णको भनाई छ ।
‘हामीले त दिन काटिहाल्यौँ । अब केही आश छैन । तर नातिनीले पढेलेखेको हेर्न मन छ । यसलाई कोही संघसंस्थाले पढाई दिएको यि आँखाले हेर्न पाउँथे कि ? आफूलाई नसक्ने भएपछि यही आशबाहेक अरु के छ र ?’ उहाँले भन्नुभयो ।
उस्तै टुहुरी रिया पनि
कविता जस्तै दशरथचन्द नगरपालिका वडा नम्बर ४ कि ९ वर्षीया रिया भुलपनि उस्तै टुहुरी छिन । आमाबुवा भएर पनि रियाले टुहरो जीवन बिताउँदै आउनु परेको छ । बुवा रोजगारीका लागि भारत गएर सम्पर्क बिहीन भएका र आमादेबु भुलले अर्कैसँग विवाह गरेपछि रियाको जीवन कविताको जस्तै छ ।
तर रिया हजुर बुवासँग नभई ठुलो बुवा, ठुलीआमासँग बसिरहेकी छन । ९ वर्ष पहिले डम्मरे भुल धन कमाउनकै लगि भारत गएर फर्केका छैनन । ‘श्रीमान फर्केर नआएपछि रियाकी आमा उनलाई डेढ वर्षकी हुँदा छाडेर अरुसँगै पोइल गइन’ रियाका ठूला बुवा महेशले भन्नुभयो ‘डेड वर्षकी छोरी छोडेर आमा अर्कैसँग गएपनि उसलाई केही अभाव हुन दिएका छैनौँ । तर बेला बेलाआमा बुवा खोई भनिरहन्छे । के जवाफदिने खोई ?’
पढ्न जान नपाएपछि बाख्रा चराउन जंगल जान्छिन्
उमेरले नौ वर्ष पुगेपनि रियाले स्कुल कस्तो हुन्छ देखेकी छैनन । ‘म सँगैका सबै स्कुल पढ्न जाँदा आफूलाई पनि जान मन लाग्छ । तर के गर्नु ? बाख्रा चराउन जंगल जानुपर्छ’ पढ्न जाने आश नमारेकी रियाले भनिन ‘बुवाआमा भइदिएको भए त साथी जस्तै स्कुल जान पाइन्थ्यो होला ।’
रियाका ठूला बुवा महेश आफ्नै छोराछोरीलाई पढाउन समेत मुश्किल भएको बताउनुहुन्छ । ‘पैसा नभएर आफ्ना छोराछोरीलाई समेत स्कूल पठाउन सकेको छैन । घएको खाने दुई छाक जुटाउनै मुश्किल भएका बेला कसरी पढाउँ’ महेशले भन्नुभयो ।
कविता र रिया जस्ता धेरै बालबालिका छन । जसका अभिभावक रोजगारीका लागि भारत जान्छन र उनीहरु नफर्केपछि आमाले समेत अरुसँगै बिहे गर्छन । गरिबीले गाँजेको सुदूरपश्चिमका पहाडी भेगका धेरै बासिन्दाको नियती बनेको छ, भारतको रोजगारी । जसले कबिता र रिया जस्तालाई निकै ठूलो चोट दिने गरेको छ ।

-इन्द्रसरा खड्का/उज्यालो

No comments:

Post a Comment