काठमाडौँ, २ भदौ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित छोरी गीता ढकालको घरमा बस्ने रसुवाको उत्तरगया गाउँपालिका–५ की ५५ वर्षीया पार्वती ढकालको हत्यामा संलग्न अभियुक्त काठमाडौं तारकेश्वर बस्ने नुवाकोटको ककनी गाउँपालिका–२ का ३० वर्षीय सुदामा लामिछानेलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले कपिलबस्तुबाट गत साउन ३२ गते पक्राउ गरेको छ ।
पार्वतीको गत साउन १२ गते टाउकोमा ह्याम्बर प्रहार गरी हत्या गरी सुनका गरगहना समेत लुटी लगेको अवस्थामा शव फेला परेपछि अनुसन्धानमा खटिएको प्रहरीले निज सुदामाले लुटेको गहना वनस्थली नर्सरीचोकस्थित दिपज्योती सुनचाँदी पसलमा १ लाख १५ हजार रुपैयाँमा बिक्री गरी कपिलवस्तुमा गई लुकीछिपि बस्दै भारततर्फ जानको लागि भारतीय रुपैयाँ समेत सटही गरी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उक्त घटनाको अनुसन्धानको क्रममा गीताको घरमा करीब १ हप्ता काम गरी १ हजार रुपैयाँ लिएर काम छोडी हिंडेका सुदामाले विदेश जान पार्वतीसँग पैसा मागेको र पैसा नभएको भनेपछि बालाजुस्थित होटलमा साथीसँगै बसेर गीताको घरमा लुटपाट गर्ने योजना बनाई उक्त दिन घरमा पुगेर पार्वतीलाई ह्याम्मर प्रहार गरी दराजमा रहेको सुनको चुरा २ थान, बाला २ थान, औंठी २ थान, लकेटसहितको सिक्री १ थान, झुम्का १ जोर, आईप्याड १ थान र घडी १ थान समेत लुटी बालाजु बसपार्कतर्फ गएको खुल्न आएको छ ।
गीता ढकालको ट्याव, गहना पगालेको सुन २३.४३ ग्राम र भारत जानको लागि साटेको भारतीय रुपैयाँ २९ हजार समेत बरामद गरी पक्राउ परेका सुदामालाई आवश्यक कानुनी कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त महाराजगंज पठाएको छ ।
साथै अभियुक्त सुदामाले ल्याएका विल नभएका सुनका गरगहना बिक्री विवरणमा संलग्न अन्य २ जना र खरिद गर्ने सुन पसले समेतका ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उक्त सुनका गरगहना दिपज्योती सुनचाँदी पसलका संचालकले पगाली सकेको अवस्थामा बरामद भएको छ ।
निज प्रतिवादी २०६३ असोजमा जबरजस्ती करणी (अप्राकृतिक मैथुन) मुद्दामा पक्राउ परी ८ वर्ष जेल सजाय समेत भुक्तान गरी २०७१ सालमा छुटेका अपराधी भएको समेत सो महाशाखाले जनाएको छ ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु :
– अभियुक्त सुदामा लामिछानेको मृतक पार्वती ढकालसंग २०७४ साल वैशाख महिनामा आमा मार्फत चिनजान भएको र गीता ढकालको घर बुढानिलकण्ठमा काम गर्न थालेको । निजले गीताको घरमा करिब १ हप्ता मात्र काम गरी रु.१०००/- लिएर काम छाडी हिंडेको ।
– काम छाडेको करिब २ महिना पछि निज सुदामा लामिछानेले विदेश जानको लागी पासपोर्ट बनाउन पैसा मागेको तर मृतक पार्वती ढकालले आफुसंग पैसा नभएको र छोरी गीता ढकाललाई सोध्नुपर्छ भनेकोले करिब २ घण्ट जति गफ गरेर फर्केको
– निजलाई पैसा आवश्यक परेको र गीता ढकालको घरमा सुनका गर गहना लगायतका सरसामानहरु राख्ने स्थान समेत देखेका कारण का.जि.बालाजु गंगाहल नजिकै रहेको होटलमा बसी निजको साथीसँगै बसी गीता ढकालको घरमा लुटपाट गर्ने योजना बनाएको ।
– योजना बमोजिम मिति२०७४/०४/१२ गते विहिबार दिउँसो अं.१२:३० बजेको समयमा निज सुदामा लामिछाने निजको साथी माईक्रो बस चढी गीताको घर का.जि. बुढानिलकण्ठ तौलुङमा गएको ।
– गीता ढकालको घरमा पुगेपछि सुदामाले ढोका ढक्ढक्याएको र गीता ढकालकी आमा मृतक पार्वती ढकालले देखेपछी ढोका खोली घर भित्र बोलाएको ।
– आफ्नै घरमा पहिला काम गरेको व्यक्ति भएका कारण निजहरुलाई कोठामा छोडी मृतक छतमा कपडा सुकाउन छतमा गएको बेलामा सुदामा र निजको साथी कसरी लुट्ने भन्ने योजना बनाई बसेको ।
– मृतकले निजहरुलाई चिया खान गरेको आग्रह ईन्कार गरेका कारण मृतक आएर कुर्चीमा बसेको ।
– उचित मौकाको पर्खाईमा रहेका निजहरुले मध्ये सुदामा लामिछानेले पार्वती ढकाललाई भुईंमा लडाई किचनमा रहेको ह्याम्मरले टाउकोमा हानेको र निजको साथीले पनि सोही ह्याम्बरले टाउकोमा हानेको ।
– मृतक भुईंमा लडेपछि सुदामा कोठामा गई दराज खोली दराजमा रहेको सुनको चुरा थान-२,बाला थान-२ औंठी थान-२,लकेटसहितको सिक्री थान-१, झुम्का १ जोर,आई प्याड थान-१ र घडी थान-१ समेत लुटी माईक्रो बस चढी बालाजु बसपार्क गएको ।
– लुटपाट पछि उपत्यकाका विभिन्न स्थानमा लुकी छिपी बसेको र वनस्थली नर्सरीचोकमा रहेको दिप ज्योती सुनचाँदी पसलमा लगी सुनका गर गहनाहरु रु.१ लाख १५ हजारमा बिक्री गरि कपिलवस्तुमा गई लुकी छिपि बसेको र भारततर्फ जानको लागी भारतीय रुपैया समेत सटही गरि बसेको ।
– उक्त घटना पश्चात् अभियुक्त सुदामा लामिछानेले ल्याएका विल नभएका सुनका गर गहना कमिशनको प्रलोभनमा परि बिक्री विवरणमा संलग्न अन्य २ जना र खरिद गर्ने सुन पसले समेका ३ जना समेतलाई पक्राउ गरिएको । उक्त सुनका गर गहना दिप ज्योती सुनचाँदी पसलका संचालकले पगाली सकेको अवस्थामा बरामद गरिएको ।
– घटनामा संलग्न प्रतिवादी मध्येका सुदामा लामिछानेलाई अपराध महाशाखाको प्रहरी टोलीले मिति २०७४/०४/३२ गते कपिलबस्तुबाट पक्राउ गरि अपराध महाशाखामा ल्याई आवस्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त महाराजगंज पठाईएको ।
– निज प्रतिवादी २०६३ साल असोज महिनामा जबरजस्ती करणी (अप्राकृतिक मैथुन) मुद्दामा पक्राउ परी ८ वर्ष जेल सजाय समेत भुक्तान गरी २०७१ सालमा छुटेका अपराधी हुन ।
दैनिक नेपाल
No comments:
Post a Comment