म्यानपावर द्वारा धम्की – तैंले प्रधानमन्त्री नै ल्याए पनि क्षतिपूर्ति पाउँदैनस् - KTV Khabar

Breaking

म्यानपावर द्वारा धम्की – तैंले प्रधानमन्त्री नै ल्याए पनि क्षतिपूर्ति पाउँदैनस्

;

डिआईजी, प्रधानमन्त्री जोसुकैलाई ल्याए पनि तैले कुनै क्षतिपूर्ति पाउँदैनस् । अबदेखि तलाई यहाँ देखें भने ठिक हुँदैन।’ भनेको काम र दाम नपाएपछि क्षतिपूर्ति पाइन्छ कि भनेर म्यानपावर पुगेका मोहम्मद हुसेन दर्जीलाई म्यानपावरले धम्की दियो ।

हुसेन काठमाडौंको द रिभर ओभरसिजबाट मलेसिया जानुभएको थियो । उहाँलाई सेक्युरिटी गार्डको काममा महिनाको १५ सय रिंगिट हुन्छ भनेको थियो म्यानपावरले ।

यहाँ कमाईको मेलो नपाएर छटपटिएका हुसेनलाई बहिनीको बिहेको खर्च जुटाउने जिम्मेवारी पनि थियो । अनि ११ जनाको परिवार चलाउनु त छँदै थियो ।

बाध्यता धेरै भएका बेला म्यानपावरले भनेको १५ सय रिगिंट ठिकै लाग्यो । त्यसैले उहाँ मलेसिया जान राजी हुनुभयो ।मलेसियाको तेगास कम्पनीमा सेक्युरिटी गार्डमा गएका उहाँले दुई महिनासम्म त काम नै पाउनुभएन । कम्पनीले हप्ताको ५० रिंगिट खानलाई पैसा दिएर राख्यो ।

दुई हप्तापछि काम त दियो तर कहिले दुई दिन एक ठाउँमा अनि कहिले ४ दिन अर्को ठाउँमा काम गर्नुपथ्र्यो । त्यतिबेला बल्ल उहाँले आफूलाई म्यानपावरले सप्लाई कम्पनीमा पठाएको रहेछ भन्ने थाहा पाउनुभयो ।

म्यानपावरले त उहाँसँग महिनाको १५ सय रिंगिटको सम्झौता गरेको थियो तर उहाँले एक महिनामा ३ सय ८० रिंगिट मात्रै पाउनुभयो । त्यसमाथि खानाको पैसा पनि दिएन ।

त्यतिबेला नै उहाँले फर्किने सोच बनाउनुभयो तर बाध्यताले गर्दा घर फर्किन सक्नुभएन । घरको दिनैको खर्च अनि बहिनीको बिहेको खर्च पनि जुटाउनु थियो त्यसैले उहाँ बाध्य भएर काम गरिरहनुभयो ।

त्यसरी नै दैनिकी चलेको पनि चार महिनामै भइसकेको थियो । एक दिनको घटनाले उहाँ समस्यामा मात्रै पर्नुभएन । घरनै फर्किनुपर्यो । एक रात होटलमा चार जना नेपाली साथीहरुसँग खाना खाँदै गर्दा पछाडीबाट हुसेनलाई एक जनाले टाउकोमा रडले हानेर घाइते बनाए ।

अरु साथी त भागे तर हुसेन अर्धचेत हुनुभयो । ‘टाउकोमा हिर्काउने चोर नै रहेछ क्यार मसँग भएको सबै पैसा अनि मोबाइल लिएर भाग्यो’ हुसेन भन्नुहुन्छ

पछि उहाँलाई साथीहरुले कम्पनीमा पुर्याए । कम्पनीले उपचार गर्न मानेन । बीमा पनि नभएको र उहाँसँग साथमा पैसा पनि नभएकोले उहाँले आफनो उपचार गर्न सक्नुभएन ।

‘यदी उपचार नगरिदिने भए एम्बेसी जान्छु भन्दा कम्पनीका साहुले पनि धम्की दिए ।’ हुसेन भन्नुहुन्छ ।तर त्यो भन्दा अघि साहुले आफ्नै त्यसरी नै कम्पनीका साहुसँग पैसा माग्दा केही कामदारलाई कुटेको देख्नुभएको थियो । त्यसैले साहु विरुद्द उजुरी दिन दूतावास जानै सक्नुभएन ।

रडले टाउकोमा लागेकोले हुसेनले काम पनि गर्न सक्नुभएन । आफूलाई परेको समस्या बारे उहाँले म्यानपावर कम्पनी र केही सञ्चार माध्यमलाई पनि इमेल गरेर जानकारी गराउनुभयो तर इमेलको कुनै जवाफ आएन । त्यसैले कम्पनी छोडेर साथीहरुसँग सहयोग मागेर ५ हजार रिगिंट तिरेर नेपाल फर्किनुभयो ।

काठमाडौं आइपुग्ने बित्तिकै उहाँ टिचिङ हस्पिटल गएर जँचाएपछि औषधी खान थाल्नुभयो । १५ दिन औषधी खाँदा पनि बीसको उन्नाइस नभएपछि उहाँ घर पुगेर भारतको पटना पुग्नुभयो उपचार गराउन । त्यहाँका डाक्टरले सिफारिस गरेको औषधी खान थालेपछि समस्या केही कम हुन थालेको छ ।

तर दिनकै डेढ सय रुपैयाँको औषधीको खानु पर्ने भएपछि पैसा पुर्याउन उहाँलाई हम्मे हम्मे परिरहेको छ । हुसेन सुनाउनहुन्छ ‘औषधी खान छुट्यो भने जमिन भाँसिएको जस्तै हुन्छ । शरीर तात्तिने, धेरै डर लाग्ने अनि बोलेको सुनिँदैन’ हुसेन भन्नुहुन्छ ।

औषधी खाने पैसा पनि नभएका हुसेनलाई नेपाल फर्किंदा सापटी दिएका साथीहरुको पैसा पनि फिर्ता गर्नुपर्ने छ ।त्यसैले उहाँ म्यानपावरले क्षतिपूर्ति दिन्छ कि भन्ने आशले चार पटक म्यानपवार पुग्नुभयो तर क्षतिपूर्ति होइन धम्की दिए म्यानपावरका सञ्चालकले ।

धम्की पाएपछि उहाँ अहिले म्यानपावर जान सक्नुभएको छैन । हुसेनले मलेशिया जाने बेलामा म्यानपावरलाई १ लाख २५ हजार रुपैयाँ बुझाउनु भएको थियो तर म्यानपावरले उहाँलाई ४० हजार रुपैयाँको मात्रै रसिद दिएको थियो । कमाउन विदेश गएर खाली हात फर्किनुपरेपछि अहिले हुसेनसँगै उहाँको परिवार बुवाको दर्जी पेशामै निर्भर छ ।

साभार::gulfActDaily

No comments:

Post a Comment