उदयपुर, साउन ११ / सात महिनाअघि रोजगारीको लागि साउदी अरब पुगेका उदयपुरका एक युवक अहिलेसम्म बेतलबी काम गरिरहन बाध्य भएका छन् ।
वेलका नगरपालिका ३ घर भएका दीपक खत्री साउदी अरब गएर काम गर्न थालेको ७ महिना भए पनि काम गरेवापत तलब पाउन सकेका छैनन् । आफूलाई एजेन्टले झुक्याएर अर्कै काममा पारिदिएको भन्दै अब नेपाल फर्किन चाहेको बताएका छन् । ‘मैले साउदी आएको एक महिनापछि मात्र काम पाएँ’, उनले भने, ‘हालसम्म एक रुपैयाँ पनि पाएको छैन, नेपाल फर्केर गाँउमै केही गर्न चाहन्छु ।’
ललितपुर धोविघाटको एचडीआर मेनपावर कम्पनीका एजेन्ट चन्द्र तामाङ च्याङ्बालाई ९० हजार रुपैयाँ दिएर खत्री साउदीको महरा सहरमा रहेको महरा रिर्सचको एचडीएआर रियाद कम्पनीमा काम गर्न गएका थिए । कम्पनीको क्यान्टिनमा कुकको काम भनेर साउदी पुगेका खत्रीले अहिले एक औषधि पसलमा काम गर्न लगाएको छ । उनले भने,–‘त्यसमा पनि पैसा दिएको छैन ।’ वैदेशिक रोजगार विभागले दिएको श्रम स्वीकृति पत्रमा कम्पनीको क्यान्टिनमा कुकको लागि ८ घण्टामा काम गर्ने उल्लेख थियो । खत्रीले भने ’त्यहाँ एउटा सम्झौता गरियो, साउदीमा आएपछि अर्कै सम्झौता देखाइयो, अनि काम पनि फरक पाएँ, तर, अहिलेसम्म पैसा पाएको छैन ।’ खत्रीका अनुसार साउदीको महरा सहरकै नलिखामा रहेको अल्दवा फार्मेसीमा अन्तरवार्ता दिएर मात्र काम पाएका छन् ।
काम गरेको ७ महिनामा नेपाली पैसा २ हजार मात्र पाएको उनले बताए । ‘मलाई एजेन्टले नै ठगी गरेको रहेछ,’ उनले भने, ‘मेनपवर र एजेन्टलाई घर फर्काई देऊ भन्दा किचकिच गर्दछन् भनेर धम्की मात्र दिन्छन् ।’ मेनपावरले समेत धम्की दिने गरेको कारण घर आउने आश मर्न थालेको खत्रीको दुखेसो गरे । ‘भाषा केही जान्दिन, के के भन्छन् भन्छ,’ खत्रीले भने, ‘मेनपावरले यहीका गुन्डा लागएर पनि मारिदिने हो कि भन्ने डर छ ।’ साउदीमा रहेको नेपाली राजदूतावासलाई सम्पर्क गर्दा नेपाल फर्कादिने आश्वासन दिए पनि अहिले काम नगरिदिएको खत्रीको दुखेसो छ ।
यता खत्रीकी पत्नी दुर्गा पौडेलेले पतिलाई साउदीबाट नेपाल ल्याउनको लागि एचडिआर मेनपावर धोवीघाटका स्थानीय एजेन्ट चन्द्र तामाङ च्याङ्वालाई पटक पटक अनुरोध गर्ने गरेकी छिन् । ‘मैले च्याङवा सरलाई श्रीमानलाई तत्काल नेपाल फर्काइदेउ भन्छु,’ उनले भनिन, ‘तर हुन्छ मात्र भन्छन, नेपाल फर्काउने दिन कहिले पनि आएन ।’ उनका अनुसार साउदी जानको लागि नेपाल सरकारले तोकेको दर १० हजार भए पनि खान बस्न कटाएर महिनाको ३० हजार तलब पाउने भन्दै च्याङवाले कागज गरेर ९० हजार रुपैयाँ लिएका छन् । उदयपुर नै घर भएका म्यानपावरका स्थानीय एजेन्ट चन्द्र तामाङ च्याङ्वालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । जिल्ला समन्वय समिति अन्तर्गत रहेको वैदेशिक रोजगार सूचना केन्द्र (सामी परियोजना) उदयपुरकी प्रमुख सोनाम राईले कागज पत्र जम्मा गरेर उद्दारको लागि सहयोग गर्ने बताइन् । ‘म पहिला यस घटनाबारे बुझ्छु,’ उनले भनिन्, ‘अनि कानुनी उपचारको माध्यबाट प्रक्रिया अघि बढाउने छु ।’
The post उदयपुरका युवक साउदी अरबमा ७ महिनादेखि तलब पाएनन् appeared first on Daleema News.
No comments:
Post a Comment