तनहुँ, १२ साउन । २०४६ सालको जनआन्दोलनका घाईते रुकुम मुसिकोटका ५२ बर्षिय तारा खड्का अहिले उपचारमा हात थाप्दै छन् । नियमित औषधि सेवन गर्न रकम अभाव भएपछि उनी विभिन्न व्यक्ति तथा संघ संस्थामा पुगी आफ्नो व्यथा बताउने गर्छ्न । जनआन्दोलनमा काठमाडौंको पूर्व राजा महेन्द्रको शालिक तोड्ने क्रममा प्रहरीले चलाएको गोली उनको दाहिने खुट्टामा लागेको थियो । गोलीबाट उनले खुट्टा गुमाउनु प-यो । घाईते अवस्थामा पक्राउ परेपछि सुरक्षाकर्मीले जिब्रो समेत काटि दिएको उनले बताए । सोही कारण उनी राम्रोसँग बोल्न पनि सक्दैनन् । प्रहरीले हातखुट्टाको छाला चिरेर नुन खुर्सानी समेत दलेको उनले बताए । नियमित औषधिकोलागि मासिक १६ सय रुपैयाँ खर्च हुने र सो रकम जम्मा गर्न आफुलाई निकै गाह्रो परेको उनले बताए । सोही कारण उनी सहयोगको हात थाप्दै हिड्न बाध्य छन् । तर सरकारबाट भने उनले खासै सहयोग पाएका छैनन् । सुरुमा सरकारले केही सहयोग गरेपनि अहिले सरकारी सहयोग बन्द भएको उनको भनाई छ । जनआन्दोलन लगत्तै तत्कालिन सरकारले उनलाई उपचारकोलागि अमेरिका समेत पठाएको थियो । तर दुई महिनाको अमेरिका बसाईको क्रममा पनि उनको स्वास्थ्यमा खासै सुधार नभएपछि उनलाई नेपाल फिर्ता ल्याईयो । अमेरिकामा उपचारको क्रममा राज्यले ५० लाख खर्च गरेको उनको भनाई छ । साथै उनले आफ्नो उपचारकोलागि काठमाडौंमा रहेको आफ्नो घर ४० लाखमा विक्री गरेका थिए । सो घर उनलाई तत्कालिन पन्च प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले दाईजो वापत दिएका थिए । पुर्व प्रधानमन्त्री श्रेष्ठको भान्जीसँग विवाह गरेका उनलाई श्रेष्ठले दाईजो स्वरुप काठमाडौंको बानेश्वरमा एक रोपनी जग्गा र २ तले घर दिएका थिए । सो सबै सम्पत्ती उपचारकै क्रममा सकिएको थियो । प्रधानमन्त्री श्रेष्ठले घर जग्गा दिएपनि खड्काले उनै श्रेष्ठको सरकार विरुद्धको जनआन्दोलनमा होमिएका थिए । सानैमा वावु आमा गुमाएका उनले केही वर्ष पछि पत्नि समेत गुमाउनु प-यो । अहिले उनको साहार भनेकै एउटा बैशाखी मात्र रहेको छ । जुन व्यवस्था ल्याउन आन्दोलन गरियो, त्यही व्यवस्थाको सरकारले अहिले आफुलाई कुनै वास्ता नगरेको उनको गुनासो छ । राज्यले आफुलाई केही गर्न नसकेपनि मासिक औषधि सेवन र खानपिनको व्यवस्था गर्न उनले अनुरोध गरे । – प्रकाशचन्द्र भट्टराई/दैनिकनेपाल

The post देशको लागि ज्यान फाले अहिले बाच्न औषधिसमेत मागी मागी खान बाध्य छु , अहिले लाग्छ हामिले रगत बगाएको यिनै दलाली नेताको भुडी भर्न पो रहेछ कि ? appeared first on Daleema News.

No comments:
Post a Comment