उपभोक्ताको व्यापक जनगुनासोपछि जिल्ला अनुगमन समितिले पोखराको बजारमा ४ टोली खटायो । टोलीलाई क्षेत्र अनुसारको जिम्मा दिइयो । त्यसै अनुसार ४ टोलीले ५ दिनदेखि लगातार बजारमा अनुगमन गरिहेको छ ।
व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा नै खेलवाड गर्ने गरेको, कानुनी प्रावधान पूरा नगरेको गरेको अनुगमनका क्रममा पाइएको छ । दूधदेखि पानीसम्म, औषधी पसलदेखि अस्पताल, किरानादेखि मासुपसल सबैतिरबाट उपभोक्ता नै मारमा परेको पाइएको अनुगमनमा सहभागीले बताएका छन् ।
महेन्द्रपुलमा सञ्चालित गोर्खा मेडिकल हल दर्तैबिना सञ्चालन भएको पाइयो । बाहिर मेडिकल हलको बोर्ड झुन्ड्याएर भित्रपट्टि ओपिडी,ल्याब, डेन्टल सेवा प्रदान गर्दै आएको पाइएपछि बुधबार अनुगमन टोलीले ताला लगाइदिएको छ । उक्त मेडिकल हल सञ्चालकलाई ३ दिन भित्र जिल्ला जनस्वास्थ्य कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
बास्तोलाथरमा रहेको सपना आर्युवेद भवन प्रालिले समेत प्रयोगशाला स्वीकृति नलिइ सञ्चालन गरेको पाइएपछि प्रायोगशाला नै बन्द गराइएको छ । स्वीकृतिका लागि जनस्वास्थ्यमा बोलाइएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।
अनुगमनका क्रममा पानी समेत प्रदुषित भेटिएको छ । हेम्जाबाट उत्पादित टुडे, क्रिस्टल, पेन्गुइन र नेसनल ब्रान्डका पानी उत्पादक कम्पनीमा अनुगमन भएको हो । टुडे ब्रान्डको पानी उत्पादक कम्पनी सिएम अप्का वेभरेज प्रालिले सफा नगरी फोहोर जारमा पानी भर्ने गरेको पाइएको अनुगमन समितिले जानकारी दिएको छ ।
अनुगमनमा सहभागी उपभोक्ता मञ्च कास्कीका सचिव मीलन तिवारीले उक्त कम्पनीले जार सफा नगरी पानी भरेको पाइएपछि हाललाई उक्त पानी बिक्री वितरणमा रोक लगाइएको छ ।एक लिटरको बोत्तलमा मापदण्ड पुर्याएको पाइए पनि जारको पानी भर्ने क्रममा लापरबाही हुने गरेको छ ।
‘जारको बाहिर साबुन पानीले धोएर टल्काएको पाइयो, तर भित्र सफा नै गरिदो रहेनछ,’उनले भने, ‘मेसिनको सहायताले सफा गरिन्छ भन्ने त प्रचारमात्र रहेछ, हामीले मेसिनले पानी धोएको त परै जाओस् भित्र सफा गरेकै पाएनौं ।’
व्यवसायीले पानीको परिमाणमा समेत ठग्ने गरेका छन् । २० लिटर उल्लेखितजारमा १८.५ लिटर मात्र पानी अट्ने तथ्य अनुगमन समितिले फेला पारेको हो । अनुगमन गरिएका ४ वटै कम्पनीले दुईथरि जार प्रयोग गरेका र एकथरिमा उक्त परिमाणको पानी भेटिएको जानकारी दिइएको छ ।
पानी उत्पादक कम्पनीले सानो साइजको जार अर्कै कम्पनीको भन्ने गरेका छन् । ‘धेरैमा हामीले पानी नापेर हे¥यौं दुईथरी पाइयो,’सचिव तिवारीले भने, ‘सबैको जार उठाइन्छ कस्ले बदमासी गर्यो थाहै भएन भन्ने जवाफ कम्पनीहरुको छ ।’पानी वितरक कम्पनीले बजारमा जुनसुकै जार पनि उठाएर आफ्नो स्टिकर टाँसेर बजारमा लैजाने गरेका छन् ।
यसअघि सोमबार अनुगमनमा पृथ्वीचोक बसपार्कस्थित दिया मेडिकल हलले मेडिकल सञ्चालनको अनुमति लिए पनि दर्तै नगरी अस्पताल चलाएको पाइएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका इमर्जेन्सी वार्ड इन्चार्ज ढाकाराम श्रेष्ठले चलाएको उक्त मेडिकलमा सोमबार ताला लगाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख वोधराज सुवेदीले अनुमति बिना नै बहिरंग सेवा, प्रयोगशाला, एक्सरे लगायत सञ्चालन गरेको भेटिएको जानकारी दिए ।
यो क्रम १ सातासम्म कायम रहने कास्कीका सिडिओ तारानाथ अधिकारीले बताए । बजार मूल्यमा एकरुपता कायम गर्न, उपभोक्तालाई गुणस्तरीय सामान उपयुक्त मूल्यमा उपलब्ध गराउन, व्यवसायीलाई जिम्मेबार बनाउन नियमित अनुगन जरुरी रहेको उनको भनाइ थियो ।
टोलीले स्वास्थ्य, कृषि, पेट्रोलियम पदार्थ र मासु पसलमा अनुगमन गरेको बजार संरक्षण अधिकृत एवं कास्कीका सहायक सिडिओ झलकराम सुवेदीले बताए । मासु र फलफूल पसल निकै दुर्गन्धित भएको, ग्राहकलाई तौलमै ठगी गर्ने गरेको अनुगमनका क्रममा भेटिएको छ ।
असार २८ गते राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको नेतृतवमा भएको अनुगमनमा सिर्जनाचोकमा रहेको लवकुश डेरी उद्योग प्रालिमा स्याक्रिन जस्तै देखिने तर प्याकेटमै अखाद्य लेखिएको ‘निलम इलेक्ट्रो प्लाटिङ पावर’ लेखिएको क्यामिकल मिसावट गर्न राखिएको भेटिएको थियो ।
प्याकेटमा प्रष्टै अखाध्य लेखिएको थियो उक्त केमिकल दूधमा नभई आइस्क्रिममा प्रायोग हुने गरेको पाइएको छ । अनुगमन टोलीले पोखरा–१७, घारीपाटनमा रहेको हिमाल डेरी उद्योगले मिसावटका लागि राखिएको बेकरी सर्टेनिङ(अत्यन्त सस्तो खालको खाद्य तेल) ४० डब्बा नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।
Source: SAMADHANNEWS.COM

The post पाेखरामा ठगी धन्दाः दूधमा घातक केमिकल, मिनरल भन्दै फोहोर पानी बिक्री appeared first on Daleema News.

No comments:
Post a Comment