काठमाडौं, साउन ३० – बाढी प्रभावित जिल्लाहरुको जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । पानी पर्न कम भएपछि विस्थापित घर फर्किन थालेका छन् । तर राहत वितरणको काम प्रभावकारी हुन सकेको छैन । पानी पर्न रोकिएपछि आजदेखि राहत वितरण सहज हुने भएको छ ।
बाढीबाट सबैभन्दा बढी प्रभावित पूर्वी तराईमा पक्की घरमा खासै क्षति नभएपनि धेरै कच्ची घर भत्किएका छन् । बस्ने घर नभएकाहरुको बिचल्ली भएको छ । सरकारी तथ्यांक अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र पाँचथरमा २७ हजार भन्दा धेरै घर भत्किएका छन् ।
पूर्वमा मात्रै २० जनाको ज्यान गएको छ, १७ जना बेपत्ता छन् । परिवार र आफन्त गुमाएका तथा घर भत्किएका प्रभावितलाई सबैभन्दा धेरै पीडा छ । उनीहरुमध्ये धेरै भोकभोकै छन् । घर हुनेहरु फर्किएपनि धेरैजना विद्यालय तथा खुला चौरमा बसेका छन् । उनीहरुलाई तत्काल उद्धार तथा राहतको खाँचो छ ।
पूर्वका बिराटनगर, इटहरी लगायतका मुख्य बजार अाइतबारसम्म बन्द थिए । सोमबारदेखि बजार खुल्दैछन् । बजारमा खाद्यान्नको अभाव नभएपनि दूध, सागसब्जी र फलफूलको भाउ बढेको छ । घरबाट बाहिर निस्कन नसक्दा बृद्धबृद्धा तथा बिरामीले औषधी किनेर समेत खान पाएका छैनन् । कतिपय स्वास्थ्य संस्था तथा अस्पतालमै डुबानमा परेकाले बिरामीलाई समस्या भएको छ ।
चार दिनदेखि बिजुली नहुँदा इनभटर, टर्च, मोबाइल लगायतका सामग्रीका ब्याट्री चार्ज गर्न नपाएको पीडितले बताएका छन् । विद्युत सेवा नियमित हुन अझै केही दिन लाग्ने भएकाले पीडितले थप समस्या झेल्नुपर्नेछ ।
बाढी प्रभावित मध्य क्षेत्रका सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सिन्धुली, बारा, पर्सा, मकवानपुर र चितवनको जनजीवन पनि बिस्तारै सामान्य हुँदैछ । खोला, नदीमा पानीको सतह घट्न थालेको छ ।
मध्यपश्चिमका दाङ, बाँके, सुर्खेत, बर्दिया, कालिकोट र सल्यान तथा सुदूरपश्चिमको कैलालीमा पनि विस्थापित घर फर्किन थालेका छन् । तर घर नहुनेहरुको पीडा उस्तै छ । उनीहरु राहतको पर्खाईमा छन् । आजदेखि राहत वितरण प्रभावकारी बनाउने सरकारी निकायको तयारी छ । बाढी प्रभावित धेरै जिल्लामा गैरसरकारी संघसंस्था तथा व्यक्तिगत पहलमा पनि राहत वितरण थालिँदैछ ।
![]()
No comments:
Post a Comment