शोकमा डुब्यो चपरतोलाः मुआब्जा लिन गएकाहरु कहिल्यै नफर्किने गरी गए - KTV Khabar

Breaking

शोकमा डुब्यो चपरतोलाः मुआब्जा लिन गएकाहरु कहिल्यै नफर्किने गरी गए

;

 

डोटी, साउन २१ – डोटीको पूर्वी क्षेत्रमा पर्ने बोगटान गाउँपालिका–१ सिमचौरको चपरतोला गाउँ अहिले शोकमा डुबेको छ । दिपायल राजपुरबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटनामा यो गाउँका ८ जनाको ज्यान गयो । शुक्रबार राति भएको दुर्घटनामा ९ जनाको ज्यान गएकोमा चपरतोलाका ८ जनाको ज्यान गएको हो ।
बोगटान गाउँपालिकाको सिमचौर–१ चपरतोलामा बन्दै गरेको बुढिगंगा हाईड्रो पावरको सबस्टेनमा जमिन परेकाले त्यसको मुअब्जा लिएर जिल्ला सदरमुकाम सिलगढीबाट फर्किने क्रममा दुर्घटना भएको हो । गाउँका ८ जनाको ज्यान गएपछि अहिले यहाँ रुवाबासी चलेको स्थानीय बासिन्दा तथा एमाले नेता हस्तबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो ‘जमिनको पैसा लिन गएकाहरु कहिल्यै नर्फिकने गरी गए, गाउँ नै अन्धकार भयो, न जमिन रह्यो न मान्छे नै, रुनु बाहेक केही रहेन ।’ शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडाको काटेगाउँको धार भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको होे ।
दुर्घटनामा ज्यान गुमाउनेमा चालक डोटीको शिखर नगरपालिकाका–१ का कृष्ण नेगी, बोगटान गाउँपालिका–१ सिमचौरका ३५ वर्षका विष्णुबहादुर मगर, ५० वर्षका बुढो घर्ती मगर, ४५ वर्षका गोरखबहादुर थापा मगर, ४५ वर्षकी ललितादेवी पुन मगर तथा ४८ वर्षका शशिराम पुन मगर रहेको प्रहरीले जनाएको छ । यस्तै सिमचौरकै ४० वर्षका टेकबहादुर पुन मगर, ३० वर्षका चन्द्रबहादुर घर्ती मगर र ५५ वर्षका भीमबहादुर घर्ती मगरको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दिल्लीराज विष्टले बताउनुभयो ।
त्यस्तै दुर्घटनामा परि चारजना गम्भीर घाइते भएका छन् भने तीनजना सामान्य घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते हुनेमा सिमिचौरकै दलबहादुर पुन मगर, हर्कबहादुर घर्ती मगर, वीरबहादुर घर्ती मगर तथा प्रकाश घर्ती मगर रहेका छन् । घाइतेहरुको दिपायलमा रहेको सुजंङ अस्पतालमा उपचार भइरहेको छ । जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

( विमल विष्ट/उज्यालो )

No comments:

Post a Comment