काठमाडौं, – अभिनेता विल्सन विक्रम राईको शनिबार जन्मदिन हो । जन्मदिनको अवसर पारेर कन्काई नदीमा सामान्य पूजाआजा गरेपछि उनी सांगीतिक कार्यक्रमको लागि लहान गोल बजारमा पुगेका छन् । विल्सनले जीवनमा धेरै उतार चढावहरु
पार गर्दै उनी अहिले नेपालमा मात्रै हैन बलिउडमा पनि काम गर्न पाउने भाग्यमानी कलाकार बनिसकेका छन् । उनले नेपाली सिनेमा र सिरियलबाट पाएको सफलतासँगै बलिउड सिनेमामा पनि काम गर्ने मौका पाएका हुन् ।
.
बलिउडमा साहिद कपूरसँग उनले भाइ मस्ट बि क्रेजीमा काम गरिसकेका छन् । त्यस्तै केही दिन अघि मात्रै उनले अर्को एक सिनेमामा आयशा टाकियासँग काम गरेको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए । अहिलेको स्थापित र सफल कलाकार विल्सनले बाल्यकालदेखि नै धेरै पीडाहरु भोग्नु परेको थियो । सानै उमेरदेखि घरको जिम्मेवारी सम्हाल्दै आएका विल्सनको कलाकारिताको यात्रा त्यति सहज थिएन । केही समय अघि हामीसँगको कुराकानीमा उनले बाल्यकालदेखि एक सफल कलाकार हुँदासम्म भोगेका पीडाहरु सेयर गरेका थिए ।
.
म मध्यम वर्गीय परिवारमा जन्मिएको मान्छे हुँ । मेरो बाबा ट्रक, बसको ड्राईभर हुनुहुन्थ्यो । आमाले खाना बेच्ने सानोतिनो होटेल चलाउनुहुन्थ्यो । तर, पढ्न चाहिँ मैलै बोर्डिङ स्कुलबाट नै सुरु गरेको हुँ । झापाको लिटिल फ्लावर ईङ्लिस बोर्डिङ स्कुलबाट मेरो स्कुलिङ भयो । सानोमा म साह्रै चकचके थिएँ । सानोमा आफूले गरेका चकचक अहिले पनि याद आउँछ ।
घरमा रङ लगाउन बाँस जोडेर राखिएको खटमा पिङ खेल्न भ्याउँथे । अग्लो ठाउँबाट उल्टी सुल्टी हान्दा भुईँमा पछारिएर मेरो टाउकोमा चोट लागेको थियो । धेरैपटक म लडेको छु । चकचके अनि चञ्चलताको उपज मेरो खुट्टामा आगोले पोलेको पनि छ । त्यो हिसाबले पनि म एकदम चकचके थिएँ भन्ने मैले बुझ्छु ।
सानो छँदा नै आमाको मायाबाट टाढा भएँ । म ९ वर्षको हुँदा आमा निकै बिरामी पर्नुभयो । ओखतिमुलोले काम गरेनन्, उहाँसँग रहने दिन सकिएको रहेछ । आमाले हामीलाई छोडेर कहिल्यै नफर्किने गरी जानुभयो । त्यसपछि कलिलो काँधमा जिम्मेवारी बढ्यो । म सानो हुँदाहुँदै ठूलो भएँ । किनकी म भन्दा मुन्तिर एउटा भाइ र बहिनी थिए । त्यसैले म सानो भएर बस्न मिलेन । दाजु अर्थात सानै उमेरमा ठूलो भएर जिम्मेवारी पूरा गर्नु पर्ने भयो ।
.
त्यहि समयमा एउटा चलचित्र साथीको सुटिङ गर्न झापामा सुटिङ युनिट आयो । सुटिङमा एउटा छोटो रोलको लागि बालकलाकारको आवश्यकता पर्यो । त्यो बाल कलाकारमा म नै छानिएँ । म पहिल्यै देखि बिहे पूजाहरुमा नाच्ने गर्थेँ । त्यसैले पनि छनौटमा म नै पर्न सफल भएको महसुस भयो । त्यो सानो भूमिकाले ममा फिल्मी क्षेत्रप्रतिको नशा जगायो ।
फिल्मी क्षेत्रतर्फ निकै आर्कषित भएँ । यति सम्मकी परीक्षाको समयमापनि स्कुलको किताबभन्दा बढी चलचित्र सम्बन्धी जानकारी दिने एकमात्र पत्रिका कामना पढ्थेँ । चलचित्र क्षेत्रप्रतिको झुकाjका कारण मेरो पढाई राम्रो भएन । सायद मैले त्यो समयमा कामना सँगसँगै स्कुलको किताबहरु पनि पढेको भए मेरो पढाई पनि राम्रो हुन्थ्यो होला ।
सिनेमामा काम गर्नको लागि सानो उमेरमै म काठमाडाै आएँ । यहाँभने तिमी सानै छौ कसरी गर्छौ र भन्ने खालको कुराकानी हुन्थ्यो । सानो हिरो राखौँ भने पनि तिमी जस्तो हिरो नेपालमा कोहीपनि छैन, कि त हामीले विदेशबाट नै ल्याएर खेलाउन पर्छ त्यो हामी सक्दैनौँ । तिमी फर्क भनेर धेरै अग्रजहरुले सुझाव दिनुहुन्थ्यो । त्यसपछि म फेरि आफ्नो घर झापा फर्किएँ । त्यसपछि घरमा आफ्नो काम गर्न र पढ्न पनि थालेँ ।
.
म २०६१ सालमा फेरि पुरानै रहर बोकेर काठमाडाैमा आएँ । त्यो समयमा अलिकति शरीर पनि ठूलो भइसकेको थियो । त्यससँगै मानसिक विकास पनि केही रुपमा भइसकेको थियो । जो मान्छे अभावमा हुर्किएको हुन्छ त्यो मान्छेले अलिकति जुगाड वा हरेक कुराको व्यवस्थापन गर्न सक्ने हुन्छ । त्यो अभाव मैले धेरै भोगेको छु र बुझेको पनि छु ।
मेरो बहिनीले रोटी खान्छु भनी भने मैले रोटी बेल्ने बेलना माग्न जानु पथ्र्यो । भाइ बहिनीको चाहनाका लागि म सजीलै मागेर ल्याउँथे । अहिलेका बच्चाहरु त्यसो गर्न लाज मान्छन् । तर यस्तो अवस्था आयो भने अप्ठ्यारो मान्नुहुFदैन जस्तो लाग्छ मलाई किनभने भोली त्यो अप्ठ्यारो आफैँलाई पनि पर्न सक्छ ।
बहिनीकै कुरामा बेलनचौकी अर्काले नदिँदा मैले घरमा थाल र बियरको बोट्टलले रोटी बनाएर बहिनीलाई खुवाएको छु । त्यसैले मलाई थाहा छ कि अभावबाट धेरै कुरा सिकिन्छ । त्यो कुरा जीवनको कुनैपनि कालखण्डमा अवश्य सहयोगी हुन्छ । काठमाडाैमा म आउँदा एकजोर जुत्ता, कालो सर्ट, कालो पाईन्ट थियो । मलाई कालो नै मनपर्ने अनि कालो ढिलो फोहोर हुने भएकोले पनि म कालो रङको लुगा लगाउँछु ।
.
एउटै लुगा अनि जुत्ता लगाएर २ वर्षसम्म संघर्ष गरे मैले काठमाडाैमा । डान्स रेस्टुरेन्ट, हिरोहरुको पछाडि कोरस डान्सहरु पनि गरेको छु । धेरैवटा फिल्महरुमा मैले भोकल यानिकी डबिङ गरेको छु ।
एउटा स्क्रिनमा तीन जना कलाकारहरुको आवाज मैले नै गरेको पनि रेकर्ड छ । फिल्ममा आफूले रेकर्ड गरेको आवाज सुन्नको लागि म बिश्वज्योतीहल सम्म पुग्थेँ । सानो सानो कुराहरुले पनि धेरै खुशी हुन्थेँ । यस्ता संघर्ष धेरै गरे पनि हात लाग्यो शून्य नै भयो । घरका मान्छेहरुले पनि अब केही हुँदैन भनेर विदेश जान सुझाए । त्यसैले म सन् २००९ को सुरुवातमा कामको लागि मलेसिया गएँ ।
मलेसियामा म एउटा होटलमा काम गर्न थालेँ । केही महिना जसोतसो काम गरेँ । तर, नसक्ने स्थिति आएपछि फेरि नेपाल फर्किने निर्णय गरेँ । मलाई त्यहाँ लगेको एजेन्सीले फर्किन पाउँदैनस् भन्दा पनि म भने नेपाल फर्किने अडानमै रहेपछि मैले धेरै दुःख पाएँ । अनेक समस्यालाई पार गरेर म स्वदेश फर्कन सफल भएँ । नेपाल फर्किने बित्तिकै सुरज सुब्बा नाल्बो सरले मलाई सायद चलचित्रमा चयन गर्नुभयो । सायद फिल्म पाउँदा म एकदम खुशी भएँ । यो मेरो जीवनको एउटा कोसेढुङ्गा साबित हुनेछ भन्ने लागेको थियो । तर, फिल्म रिलिज अलि ढिलो भयो । अरु फिल्ममा कामपाउन मुस्किलै थियो ।
.
त्यसैले झापामा हुने महोत्सवहरु तिर उद्घोषक भएर कामहरु गर्नथालेँ । आखिर जीवन त जसो तसो चलाउनै पर्यो । महोत्सवहरुमा कलाकारको जमघट हुन्थ्यो । म कार्यक्रम उद्घोष गर्दा पनि दर्शकहरुलाई हँसाउने गर्थेँ । एकदिन केदार घिमिरे माग्ने बुढा त्यस्तै कार्यक्रममा आउनुभयो । त्यो बेलामा म भेटे जति कलाकारलाई एक मौका दिनुस् भन्ने आग्रह गर्थेँ ।
माग्ने बुढालाई पनि त्यहि कुरा भनेँ । उहाँले नम्बर दिनुस् भन्नुभयो, नम्बर दिएँ । के के आउँछ भन्नुभएको थियो । मैले त्यो समयमा ४ वटा क्यारेक्टर देखाएको थिएँ । उहाँले त्यसमध्ये तक्मे बुढा क्यारेक्टरलाई छान्नुभयो । पछि उहाँले फोन गरेर तक्मे बुढा गरौँ भन्नुभयो त्यसपछि गरियो पनि ।
.
तक्मे बुढा पहिला रिलिज भयो अनि मेरो फिल्म सायद रिलिज भयो । सायदमा मैलै तक्मे बुढा भन्दा पहिला काम गरेको थिएँ । एकाएक दुवै तर्फबाट यति धेरै सफलता प्राप्त भयो कि कुरा सम्झिFदा खुशीको आँसु आउँछ । त्यसपछि टेलिभिजन र स्टेजमा तक्मे बुढाको भूमिकामा मैले सफलता पाउँदै गएँ भने ठूलो पर्दामा सायदले मलाई माथि लगिदियो । सायद चलचित्रबाट मात्र मैले त्यो वर्ष ६ वटा अवार्ड जितेँ । त्यस पछि त मेरो कलाकारिता फस्टाउँदै गयो ।
हिजो जति दुःख पाएको थिएँ त्यो दुःखले आज मलाई सुखको बाटो दिएको छ । दुःखपनि ठाउँमा गएर दुःख गर्नुपर्छ, पहाडमा ढुङ्गा फुटाउनु अघि त्यो ढुङ्गा के कामको लागि फुटाउने भन्नेमा पनि आफू निश्चित भईसक्नुपर्छ ।

No comments:
Post a Comment