यी जोडीलाई अन्तरजातीय विवाहले तनाव बनाएपछि - KTV Khabar

Breaking

यी जोडीलाई अन्तरजातीय विवाहले तनाव बनाएपछि

;

असार ३०, २०७४- छोराले अन्तरजातीय विवाह गर्दा आफ्नो परिवार डेढ महिनायता आतंकित बन्नु परेको संखुवासभा पाँचखपन ६ का हेमकुमार गदाल (विश्वकर्मा) ले दुखेसो पोखेका छन् ।

शुक्रबार दमकस्थित आफन्तको घरमा पत्रकारसंग दुखेसो पोख्दै गदालले संविधानले अन्तरजातीय विवाहलाई मान्यता दिइसकेपनि समाजले अझै स्वीकार्न नसकेको गुनासो गरे ।

‘छोराले विवाह गरेदेखि हामी घरमा राम्ररी बस्न पाएका छैनौं । कहिले पुलिस आउँछ । कहिले १०/१५ जना केटाहरुको हुल आउँछ,’ गदालले भने,‘छोरी ल्याई दे भन्दै हप्काउछ ।

थानामा लगेर थुन्छौं भनेर धम्काउँछ । छोराले विवाह गरेकै कारण हामी आतंकीत भएका छौं ।’ गदाल परिवार हाल सुनसरीको इटहरी २ मा बस्दै आएको छ ।

उनका छोरा सपन गदाल र बिराटनगर ११ की अनुषा खड्काले गत जेठ १४ गते भागी विवाह गरेका थिए । छोरीले अन्तरजातीय विवाह गरेको थाहा पाएपछि खड्का परिवारले विभिन्न डरधम्की देखाएर उनीहरुलाई छुटाउने प्रयास गरेको गदाल परिवारले जनाएको छ ।

खड्का परिवारले आफ्नी छोरीलाई सपन गदालले ललाईफकाई लगेर बेपत्ता बनाएको भन्दै भोलिपल्टै प्रहरीमा जाहेरी दिएको थियो । जाहेरीपछि परिवारको सम्पर्कमा आएपनि आफ्नो विवाह तोड्न खोजेको अनुषाले बताइन ।

उनले भनिन,‘हामी सहमतिमै प्रेम विवाह गरेका हौं । तर, मेरो परिवारले हाम्रो विवाहलाई तोड्न खोजिरहेको छ । मेरो अनुरोध छ, हामीलाई नछुट्याइयोस ।’

सपनले पनि आफूहरुको जोडीलाई नछुटाइदिन आग्रह गरे । उनले भने,‘हामीले सच्चा प्रेम गरेर विवाह गरेका हौं । हामी दुवै जना गरिखान सक्ने भएका छौं ।

हामीलाई जातीय विभेदको नाममा नछुट्याइयोस ।’ जेठ १४ गते भागेका उनीहरुले २८ गते झापाको कनकाइमाईमा विवाह गरेका थिए । उनीहरु दुवै जनाले बिराटनगरस्थित एभरेष्ट माविबाट यसै बर्ष कक्षा १२ को परीक्षा दिएका छन् ।

भागी विवाह गरेको डेढ महिनासम्म खड्का परिवारबाट डरधम्की र छुटाउने प्रयास भइरहेपछि उनीहरुले शुक्रबार इटहरीस्थित इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । ‘मेरो परिवारको डरधम्कीबाट भाग्दाभाग्दा हामी थाकेपछि प्रहरीको शरणमा आएका हौं,’ अनुषाले भनिन् ।

The post यी जोडीलाई अन्तरजातीय विवाहले तनाव बनाएपछि appeared first on Daleema News.

No comments:

Post a Comment