सुनको गहनामा मिसावट भेटिन थालेको छ त्यसैले सचेत हुन सबैलाई आग्रह गर्दछौ !!
२४ क्यारेटको गहनामा ९५ प्रतिशत मात्रै शुद्धता
ताकेता गरेर प्रतिवेदन पठाएका छौं : गुणस्तर विभाग
प्रतिवेदन पाएका छैनौं : आपूर्ति विभाग
– राजु चौधरी, काठमाडौं
भाद्र १५, २०७४- बजारमा सुनचाँदीको गहनामा पुन: मिसावट भेटिन थालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा यस्तो फेला परेको हो । विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार अनुगमन टोलीले पोखराका केही गहना पसलमा अनुगमन गरेको थियो । त्यसक्रममा आंैठी, टप, लेकट, रिङलगायत गहनाका नमुना संकलन गरिएको थियो । संकलित नमुना गुणस्तर तथा नापतौल विभागमा परीक्षण गरिएको थियो । परीक्षणको क्रममा गहनामा मिसावट भएको फेला परेको हो । विभागले तयार पारेको नमुनाको प्रतिवेदनअनुसार ५ वटामध्ये लकेट मात्रै शुद्ध फेला परेको थियो । नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार २.२ ग्रामको गोलो टप परीक्षण गर्दा ९५.८७२ प्रतिशत मात्रै शुद्धता फेला परेको थियो । बाँकीमा चाँदी, तामा, पित्तलको मिसावट रहेको पाइएको छ ।
यस्तै १.९२ ग्रामको औंठी परीक्षण गर्दा ९५.९२४ प्रतिशत मात्रै सुन थियो । ३.८० ग्रामको अर्को औंठी परीक्षण गर्दा ९६.१३९ प्रतिशत शुद्धता रहेको विभागले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । २.९८ ग्रामको रिङ परीक्षण गर्दा ९६.८७५ प्रतिशत सुन रहेको प्रतिवेदनमा छ । १.३८ ग्रामको लकेटमा भने मापदण्डअनुसार शुद्धता रहेको जनाएको छ । उक्त लकेटमा ९९ प्रतिशत सुन रहेको प्रतिवेदनमा छ ।
जानकारहरूका अनुसार ९८ प्रतिशतसम्म सुनलाई शुद्धता नै मानिन्छ । तर, त्योभन्दा कम हुनु भनेको उपभोक्ता ठगी भएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ठगी गर्ने व्यवसायीलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरू बताउँछन् ।
‘गहनामा मिसावट गरी बिक्री गर्नेलाई उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारबाही गर्न सकिन्छ । कालोबजारी ऐनअनुसार पनि कारबाहीको दायरामा ल्याउन सकिन्छ ।
ऐनअनुसार आर्थिक जरिवानासँगै मुद्दासमेत दायर गर्न सकिन्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘ठगी गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले पनि २ प्रतिशतसम्म कम मान्य भए पनि त्यसभन्दा तल मान्न नसकिने बताए । ‘९८ प्रतिशतसम्म शुद्धतालाई मान्यता दिन सकिन्छ,’ उनले भने, ‘तर, त्योभन्दा बढी हुँदा सुधार नै हुनुपर्छ । ९५ प्रतिशत शुद्धता गलत हो ।’ उपभोक्तालाई ठगी गरेको फेला परे पनि कारबाही गर्ने निकाय भने मौन छ । आफू अनुकूल अनुगमनमा जाने त्यसपश्चात् अनुगमनको प्रतिवेदनमा कुनै चासो नदिएको आपूर्ति विभागका अधिकारीहरू बताउँछन् । विभागको तथ्यांकअनुसार ०७३/७४ मा मात्रै ४ हजार ७ सय ५ फर्ममा अनुगमन गरेको थियो । त्यसमध्ये प्राय: सबैमा कैफियत देखिएको थियो । तीमध्ये १ सय ९ वटाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । ‘तर, कति नमुनाको प्रतिवेदन आयो, कुनै जानकारी नै छैन,’ विभागका एक अधिकारीले भने, ‘परीक्षणका लागि सम्बन्धित निकायमा पठाए पनि त्यसको फलोअप नै हुँदैन ।’
यसअघि विभागले अनुगमन गर्दा कोखला चिकमखोला नामक चाँदीको गहनामा ८६ दशमलव ८७ प्रतिशत मात्रै शुद्धता फेला परेको थियो । उक्त गहनामा ६ दशमलव १७ प्रतिशत कपर, २ दशमलव ३७ प्रतिशत जिन्क मिसावट फेला परेको थियो । ४ दशमलव ३६ प्रतिशत क्याडमियम मिसावट गरेको थियो । उक्त पसललाई कारबाही गर्ने बताए पनि मिलेमतोमा उन्मुक्ति दिइएको थियो ।
सुनमा मिसावटको प्रतिवेदन नापतौल विभागले आपूर्तिमा पठाइसकेको छ । तर, आपूर्ति विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले भने प्रतिवेदन प्राप्त नगरेको दाबी गर्छन् । ‘गहनाको प्रतिवेदन प्राप्त गरेका छैनौं,’ उनले भने, ‘प्रतिवेदन प्राप्त गरेपछि थप प्रक्रिया थाल्छौं ।’
अध्यक्ष सुनारले व्यवसायीहरूले अनुगमनलाई व्यवस्थित बनाउन तत्काल निर्देशिका जारी गर्नुपर्ने जनाएका छन् । विभागले करिब ४ वर्षअघि गहना पसलमा अनुगमन गर्दा केही सुनचाँदीको कारोबार निर्देशिकाबिना अनुगमन गरेको भन्दै व्यवसायीहरू आन्दोलितसमेत भएका थिए । त्यसपछि तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवस्तरीय वार्ता गरेका थिए । वार्तामा व्यवस्थित कार्यविधि बनाउने सहमति भए पनि हालसम्म निर्देशिका बन्न नसकेको उनको गुनासो छ । ‘सरकार र व्यवसायीबीच १५ दिनभित्र मापदण्ड बनाएर अनुगमन गर्ने, निर्देशिकाभित्र नपरेका व्यवसायीलाई कारबाही गर्ने सहमति भएको थियो,’ उनले भने, ‘तर, हालसम्म निर्देशिका जारी हुन सकेको छैन ।’
SOURCE:
KANTIPUR
No comments:
Post a Comment