सबैका पुरुष सधैँ घरमा हुँदैनन्: उपाध्यक्ष गंगु - KTV Khabar

Breaking

सबैका पुरुष सधैँ घरमा हुँदैनन्: उपाध्यक्ष गंगु

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

बझाङ । जिल्लामै पहिलो पटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताउनुभयो ।

महिलाले हलो जोत्दा अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजमा विसं २०५९ मा हलो जोत्दा उहाँलाई विभिन्नखालका अफवाह र लाञ्छनाहरु खेप्नु प¥यो । तर पनि उहाँ विचलित हुनुभएन । लगातार पाँच वर्षसम्म आफै हलो जोतेर आफ्नो खेती आफैँ लगाउनुभयो ।
“सबैका पुरुष सधैँ घरमा हुँदैनन्”, उहाँले भन्नुभयो – “पुरुष घरमा नभएका महिलाले आफन्तलाई हारगुहार गरेर हलो जोति माग्नुपथ्र्यो, हलो जोतिदिएकै भरमा पुरुष घरमा नभएका महिलाले विभिन्नखालका यौन जन्य हिंसा र थिचोमिचो सहनु परेको देखेँ, अन्यायको जरा हलोमा अड्किएको देखेर हलो जोत्ने साहस गरेकी हुँ ।”

शुरुमा महिलाले हलो जोत्दा खडेरी पर्छ अनिकाल पर्छ भनेर हल्ला फैलाए पनि पछि त्यस्तो केही नभएको देखेर यहाँका धेरै महिलाले आफैँ हलो जोत्ने साहस गरेको उहाँले बताउनुभयो ।
विसं २०२० मा भारतको कर्नाटकामा जन्मनुभएकी गंगु साविक पाराकाट्ने गाविसका दिलबहादुर खडायतसँग विवाह गरेर २०४१ सालतिर बझाङ आउनुभएको हो । सूचना प्रविधिको शहरका रुपमा परिचित भारतको बेङ्लोर सहरमा हुर्किएकी गंगुले बझाङ जस्तो अन्धविश्वासको पराकाष्ठा रहेको ठाउँमा आएर स्थापित हुन थुप्रै संघर्ष गर्नुभयो ।

बझाङ आएको केही वर्षमै उहाँका श्रीमानले छोडेर हिँडे । एकल जस्तै बनेर एक सन्तानलाई हुर्काउने क्रममा उहाँले भोगेको कष्टले समाज बुझ्न सघायो । “महिलालाई यतिसम्म तल्लोस्तरबाट हेरिन्छ होला भन्ने सोचेकी पनि थिइनँ”, उहाँले विगत सम्झिँदै भन्नुभयो – “आफूले नै परिवार समाजबाट भोग्नुसम्म पीडा भोगेँ, अनि विद्रोह नै गर्नुपर्छ भन्ने सोच पलायो ।”
२०४९ सालको स्थानीय निर्वाचनमा निर्विरोध वडा सदस्य भएपछि राजनीति शुरु गर्नुभएका उहाँले त्यसबेलासम्म औपचारिक शिक्षा ५ कक्षासम्म मात्र पढ्नुभएको थियो । विसं २०६७ मा ४७ वर्षको उमेरमा उहाँले एसएलसी पास गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भइसकेपछि उहाँले गाउँपालिकाको समग्र विकाससँगै महिलाप्रति हेर्ने दृष्टिकोणलाई न्यायपूर्ण बनाउन आफू रातदिन लाग्ने दृढता व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ – “नियमले उपाध्यक्षलाई न्यायिक समितिको जिम्मा दिएको छ, हाम्रो समाजमा थुपै्र अन्याय र शोषण कायमै छन् यसबाट महिला र बालबालिका बढी पीडित छन् त्यसैले उनीहरुलाई सुविधा हुने काम गर्छु ।”

मदिरा नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताउँदै उपाध्यक्ष गंगु भन्नुहुन्छ – “आफू कमाइ नगर्ने भएका कारण महिला बढी समस्यामा छन् विभिन्नखालका सीप सिकाएर महिलालाई गरिखाने बनाउनका लागि पहल गर्नेछु ।”
खानेपानीको सुविधा सबै गाउँमा पु¥याउने, घाँसको वृक्षरोपण गर्नेदेखि लिएर विपन्न वादी महिलालाई आत्मनिर्भर बनाउनेसम्मका योजना सुनाउने उहाँले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने भएकाले थलाराका बासिन्दाले आफूलाई चुनेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ – “हेर्दै जानुस् थलारामा तपाईंले अन्त कतै नभएको काम भयो भनेर समाचार लेख्ने दिन छिट्टै आउँदैछ, अन्तका मान्छेले हामीबाट सिक्ने गरी काम गर्छु ।”
महिलाका पीडा मार्नका लागि आफू रातदिन नभनी खटेका कारण थलाराका बासिन्दाले आफूलाई पनि कुनै पार्टी नभनेर गंगुदेवी खडायतको नाममा मत दिएको उहाँको दाबी छ ।

रासस

The post सबैका पुरुष सधैँ घरमा हुँदैनन्: उपाध्यक्ष गंगु appeared first on News Fetch.

No comments:

Post a Comment