झरना थापा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् । २० वर्षअघि फिल्मी दुनियाँमा प्रवेश गरेपछि उनले पछि फर्किएर हेर्नुपरेको छैन । बरु उनको यात्रा सफलताको शिखरतर्फ प्रवेश गरिरहेको छ ।
लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । उनी निर्देशकसमेत भएकी छिन् । उनको निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गते अल नेपाल रिलिज हुँदै छ । वर्षौदेखि चलचित्र क्षेत्रमा काम गरी दर्शकको मन जित्न सफल झरनाले लाखौँ फ्यान कमाएकी छिन् । गज्जबका रामजी ज्ञवालीसँग उनले केही फ्यानहरुलाई यसरी सम्झिइन् :
क्रेजी भएर शाशाले हात काटेर फोटो पठायो
पाँच वर्षअघिको कुरा हो । काठमाडौंमा बस्ने एउटा भाइ हुनुहुन्थ्यो । उहाँको नाम शाशा हो । उहाँले कहाँबाट मेरो नम्बर पाउनुभएको रहेछ । एकपटक भाइबरमा म तपाईंको बिग फ्यान हुँ भन्दै म्यासेज गर्नुभयो । मैले त्यसलाई सामान्य रूपमै लिँदै आएँ । उहाँलाई मैले थ्यांक यू भनेँ । उहाँले म्यासेज गर्दा मैले रिप्लाई गर्थें ।
गुडमर्निङ, गुडनाइडभन्दा मैले पनि जवाफ फर्काएकी हुन्थे । उहाँ बिस्तारै क्रेजी हुँदै जानुभएछ । एक दिन उहाँले ‘म तपाईंका लागि जे पनि गर्न सक्छु’ भन्नुभयो । मलाई अचम्म लाग्यो । ‘होइन के गर्नुहुन्छ मेरा लागि’ भनेँ । उहाँले ‘एकैछिन है’ भन्दै भाइबरमा कल काट्नुभयो । र, हात काटेर फोटो पठाउनुभयो । त्यसपछि ‘देख्नुभयो’ भन्दै मलाई कल गर्नुभयो । मैले सम्झाएँ, बुझाएँ । उहाँले ‘म तपाईंलाई एकदमै माया गर्छु’ भनिरहनुभयो । उहाँले ‘तपाईंका लागि ज्यान पनि दिन्छु’ भन्न थालेपछि एकदमै डर लाग्यो । म बिस्तारै टाढिदै गएँ ।
छोरीलाई मोबाइल मलाई सुनको चुरा दिने सरिता
६–७ वर्षअगाडिको कुरा हो । चलचित्र ‘तकदिर’ रिलिजको समय थियो । पोखराको हलमा फिल्म लागिरहेका वेला सरिता गुरुङले मेरो फोन नम्बर माग्नुभयो । रिलिजको समयमा फ्यानहरू भड्काउन भएन भनी मैले नम्बर दिएँ । उहाँले त्यसपछि निरन्तर फोन र म्यासेज गर्नुभयो । नजिकिन हदैसम्मको प्रयास गर्नुभयो ।
बिस्तारै उहाँ मेरो घर काठमाडौं आउने, जाने यहीँ बस्ने गर्न थाल्नुभयो । उहाँ अहिले पनि एकदमै नजिक हुनुहुन्छ । सायद मेरो बहिनीभन्दा धेरै । हरेकपटक मेरो घरमा आउँदा टन्न सामान बोकेर ल्याउनुहुन्छ । केही समयअघि मात्रै मेरो छोरीलाई मोबाइल गिफ्ट ल्याइदिनुभयो भने मलाई सुनको चुरा । हामीले पनि उहाँलाई धेरै माया गर्छौं ।
ब्रिटिस आर्मीले मायाको कुरा गरेपछि…
एकजना लक्ष्मी गुरुङ भन्ने पुरुष हुनुहुन्छ । उहाँ ब्रिटिस आर्मी हो । युकेमा बस्नुहुन्छ । ७ वर्षअघि एक कार्यक्रमका लागि युके जाँदा भेट भयो । फोटो खिच्नुभयो । त्यसपछि फेसबुकमा साथी पनि बन्नुभयो । बिस्तारै उहाँले घर छाड्न र आफूसँग आउन दबाब दिँदै जानुभयो । मैले त्यो सोच्ने कुरै भएन । उहाँले मविना बाँच्न नसक्ने कुरा खोल्नुभयो । त्यसपछि उहाँसँग पनि म टाढिन बाध्य भएँ । कहिलेकाहीँ चाहिनेभन्दा बढी माया गर्दा स्वाभाविकै रूपमा टाढिन बाध्य हुनुपर्दोरहेछ ।
काठमाडौंमै बस्ने शाशा नाम गरेको भाइले हात काटेर फोटो पठाउनुभयो । मैले त्यस्तो नगर्न धेरै सम्झाएँ । उहाँले ‘म तपाईंलाई एकदमै माया गर्छु’ भनिरहनुभयो । पछिपछि त ‘तपाईंका लागि ज्यान पनि दिन्छु’ भन्न थालेपछि एकदमै डर लाग्यो ।
जाडोमा गेटबाहिर कुरेर बस्ने दाङको शंकर
झन्डै २ वर्षअघिको कुरा हो । दाङबाट हिँडेको एकजना भाइ बिहानै बानेश्वरमा उत्रियो । उसको नाम शंकर हो । जाडो महिना थियो । सबैसँग सोध्दै बिहान ६ बजे मेरो घरको ढोकामा आयो ।
सहयोगी राजकुमारले ‘झरना हुनुहुन्न’ भनेर ढाँटेछ । तर, शंकरले नपत्याएर बसिरहेको रहेछ । म सुतिरहेकी थिएँ । बिहान १० बजे खाना खान किचनमा जाँदा राजकुमारले ‘एउटा गाउँबाट आएको केटाले तपाईंलाई खोजिरहेको छ’ भन्ने जानकारी गरायो । मैले उसलाई वास्ता नगरी खाना खाएँ । झन्डै आधा घन्टापछि हेर्दा ऊ त्यहीँ बसिरहेको थियो । बिहानको जाडोमा ६ बजेदेखि १२ बजेसम्म कुरिरहेको देख्दा मेरो मन पनि बदलियो र उसलाई बोलाउन लगाएँ ।
उसले मेरो बिग फ्यान भएको बतायो । अनि केही गिफ्ट ल्याएको रहेछ । मैले खाना खाऔँ भनेँ, तर उसले बाहिर गएर खान्छु भन्यो । चिया र बिस्कुट मात्रै खायो । त्यस दिनदेखि अहिलेसम्म ऊ मसँग नजिक छ । अहिलेसम्म हरेक महिनाजस्तो मेरो घरमा आउँछ । आउँदा सधैँजसो कोसेली बोकेर ल्याउँछ । फोनमा धेरैजसो कुरा भइरहन्छ । ऊ मेरो आफ्नै भाइजस्तो लाग्छ । उसले पनि आफ्नै दिदी मान्छ ।
ठमेलमा हात समाएर डाँको छाड्दै रुने फ्यान
दिउँसो घाम लागिरहेको थियो । मास्क लगाएर म ठमेलमा हिँडिरहेकी थिएँ । दुईजना भाइले आँखा चिनेर च्याप्प हात समाते । ‘झरना दिदी होइन’ भन्दै सोधे । म केही बोलिनँ । उनीहरूले ‘तपाईं झरना दिदी हो, हामीले चिन्यौँ’ भने । मैले हाँस्दै हेल्लो भनेँ । त्यत्तिकैमा एकजना भाइ हात समातेर डाँको छाड्दै रुन थाल्नुभयो । उहाँले धेरै पहिल्यैदेखि मलाई भेट्न खोज्नुभएको र एक्कासि भेट्दा खुसीले रुनुभएको हरेछ । मैले सडकको बीचमा उहाँ रुँदा जति अप्ठ्यारो अनुभव गरे पनि त्यहाँबाट हिँड्न सकिनँ । उहाँलाई धेरैबेर सम्झाइबुझाई गरेर पठाएपछि म
आफ्नो काममा लागेँ ।
औँठी लिन बाध्य बनाउने दिदी
कुरा २ वर्षअघिको हो । गाईघाट महोत्सवमा गएकी थिएँ । स्टेजको पछाडि थिएँ म, बाहिर एकजना दिदीले मलाई भेट्न खोज्नुभएको रहेछ । म बसेको ठाउँमा आउन नदिएका रहेछन् सुरक्षाकर्मीले । मैले थाहा पाएपछि म भए ठाउँमा ल्याउन लगाएँ । उहाँले केही गिफ्टसहित आफूले लगाएको औँठी लिन बाध्य बनाउनुभयो । उहाँले दिएको औँठी अहिलेसम्म सुरक्षित राखेकी छु । उहाँले भन्नुभयो, ‘तपाईंको डान्स, अभिनय एकदमै मन पर्छ, धेरै वर्षदेखि भेट्न खोज्दा पाएकी थिइनँ, आज बल्ल पाएँ ।’
झरना थापाजस्तै हुन्छु भन्दै रुने सृष्टि
आजभन्दा ४ वर्षअघि पोखरामा एकजना बहिनीसँग भेट भएको थियो । उहाँको नाम सृष्टि शर्मा हो । मलाई भेटेपछि ती बहिनी खुसी हुँदै रुनुभयो । अनि म भविष्यमा झरना थापाजस्तै हुने हो भन्नुभयो । उहाँ धेरै रोएपछि नजिकै रहनुभएका उहाँका बुवाले धेरै कुरा खोल्नुभयो । उहाँ अहिलेसम्म पनि नजिक हुनुहुन्छ । सायद १७ वर्षकी हुनुहुन्छ होला । अभिनय र डान्स मैलेजस्तै गर्छु भन्दै देखाइरहनुहुन्छ । उहाँसँग साँच्चिकै खुबी पनि छ ।
श्रीमान्कै अगाडि रगतले लेखेको चिठी आएपछि…
म श्रीमान् (सुनीलकुमार थापा)सँग घरमै थिएँ । हुलाकबाट एउटा चिठी आयो । एक्कासि त्यो चिठी हातमा पर्यो । कुरा ९ वर्षअघिको हो । चिठी रगतले लेखेको थियो । त्यसले घरमा तहल्का पिट्यो । सुनीलले अप्ठ्यारो फिल गर्नुभयो । त्यो चिठीमा लेखिएको थियो, ‘म तिमीलाई एकदमै माया गर्छु, सधैँ प्रगतिको कामना गर्छु, खुसी रहनू ।’ चिठी हेटौँडाबाट सन्तोष पाण्डेले पठाउनुभएको थियो । सुनील यही क्षेत्रको भएकाले पछि उहाँले यसलाई सहज रूपमा लिनुभयो ।
फोन गरेर हैरान पार्ने फ्यानलाई जेल हालेँ
दिनरात फोन गरेर हैरान पार्ने एकजना भाइलाई हनुमानढोका प्रहरीमा बुझाउन बाध्य भएँ । २४सै घन्टा फोन गरेर हैरान पारेपछि मैले धेरैपटक ‘प्लिज अति भयो मैले प्रहरीकोमा उजुरी हाल्न नपरोस्’ भनेर सम्झाएँ । उहाँले मान्नुभएन । झगडा हुन थाल्यो । त्यसपछि अति रिस उठ्यो । त्यसपछि मैले एकदिन ‘केस गर्दै छु’ भने र हनुमानढोकामा केस पनि गरेँ । केही दिनभित्रै सुटिङमा पोखरा गएँ । यता त्यो भाइलाई प्रहरीले समातेको रहेछ । त्यसको केही दिनमा म हनुमानढोका गएँ । मेन्टल्ली टर्चर गर्ने त्यो भाइलाई प्रहरीकै अगाडि एक झापड दिन्छु भनेको फुच्चे पो रहेछ । भर्खर ९ कक्षामा पढ्दोरहेछ । उसको नाम अर्जुन श्रेष्ठ रहेछ । अनि एक्कासि माया लाग्यो । किन यसो गरेको बाबु भनेर सोधेँ । उसले ‘तपाईंको एकदमै माया लागेर फोन गरिरहेको’ भन्यो । उसले पछि ‘सरी’ भन्यो र मैले उसलाई त्यहाँबाट निकालेँ ।
नयाँ पत्रिकाबाट

The post अभिनेत्री झरना थापालाई श्रीमानकै अगाडि रगतले लेखेको चिठी आएपछि… appeared first on Daleema News.

No comments:
Post a Comment