श्रृजना आचार्य, काठमाण्डौ, ३ साउन । भक्तपुर स्थित एउटा दुई तलाको घर । जसको तल्लो तलामा रहेको एउटा सानो कोठा । जसमा तीन जना बिरामी अलग, अलग बेडमा पल्टिरहेका छन् । ती मध्ये एउटी हुन् २४ वर्षिया सरिता महर्जन । उनको करिब १५ दिन अघि शल्यकृया गरिएको छ । त्यो घाउ बेला बेलामा चहर्याउंछ । उनी घाउ सुम्सुम्याउंछिन अनि मुसुक्क हांस्छिन् ।
उनलाई त्यो घाउले शारिरीक रुपमा पीडा दिएको छ तर मानसिक रुपमा भने निकै खुसी । किनकी त्यो त्यस्तोे घाउ हो जसले कसैको ज्यान जोगाएको छ ।अरु बाँकी हुन् उनका बुवा र आमा । बुवा हिराकाजी महर्जन र उनकी पत्नी मञ्जु । सरीता, मञ्जु र हिराकाजीकी माहिली छोरी हुन् । यो बसेको घरको कोठा पनि उनीहरुको होइन । उपचार सजिलो होस भनेर कोठमाण्डौ १२ लगनटोल स्थित आफ्नो घर छोडेर अस्पताल नजिकै भाडामा खोजेको कोठा हो ।
सामान्यतया आमा बुवा नै हुन छोराछोरीको छहारी । आमा बुवाको छत्रछांयामा छोराछोरी हुर्कीएका हुन्छन् । तर यहां सरिता यस्ती छोरी हुन जो आमाबुवाको सहारा बनेकी छन् ।
पांचवर्ष देखि अस्वस्थ्य उनकी आमाको घरमा भन्दा बढी अस्पतालमा बसाई हुन्छ । चार वर्ष अघि अचानक हर्ट अट्याक भएपछि उनको जीवनमा अस्वस्थता सुरु भयो । अनि शहिद गंगालाल अस्तालमा लगातार स्वास्थ्य जांच गराउंदै आएकी उनको त्यहाँका चिकित्सकले दुवै मृगौला समेत काम गर्न नसक्ने अवस्थामा पुगेको जानकारी दिएका थिए । “अहिले ममि हप्तामा दुई दिन अस्पतालमै बस्नुपर्छ, मृगौलाले काम नगर्ने भएकाले शरिरमा जम्मा भएको पानी अस्पतालमा चिकित्सकले मेसिनद्धारा निकाल्नुपर्छ, सरिता भन्छिन्, ४९ किजी तौलको आमा अस्पतालबाट फर्किदा ३५ केजिको भएर आउनुहुन्छ ।” आमाको यस्तो अवस्थाले परिवारमा सबैको जीवनमा प्रभाव परेको छ । उनका बुवा हिराकाजी काठमाण्डौ १२ लगनटोल आफ्नो घर नजिकै सानो नेवारी खाजा घर संचालन गर्थे । ब्यवसाय नै यस्तो भैदियो उनको अल्कोहल पीउने बानी पर्यो । बुढ्यौलीले छुंदै गएपछि उनको पेटमा समस्या देखियो । सहनै नसक्ने गरी पेट दुख्न थालेपछि गंगालालमै उपचारका लागि पुगेका उनलाई चिकित्सकले कलेजोले काम गर्न छोडेको जानकारी दिए । “आमा दुवै मृगौलाले काम गर्न नसेकेर बिगत २ वर्षदेखि डाईलोसिस गर्दै बसिरहेको बेला डाक्टरले बुवाको अब अन्तिम दिन भन्दिए मेरो त आंखा अगाडीको संसार धमिलो भयो, सरीता भन्छिन्, तर हार खाएर बस्ने अवस्था थिएन ।”
आमाको स्वास्थ्य अवस्थाले आर्थिक अवस्था खस्कदै गएको बेलामा बुवाको उपचारको लागि भारत गएका उनीहरुलाई चिकित्सकले तत्काल कलेजो प्रत्यारोपण नगरे ज्यान जाने घोषणा सुनाई दिए । भारतमा कलेजो प्रत्यारोपण गर्दा लाग्ने खर्च सुन्दा झन सरीता हतास भइन् । “भारतमा कलेजो प्रत्यारोपण गर्दा डेढ करोड रुपैया लाग्ने चिकित्सकले सुनाए, हामी जस्तो सामान्य परिवारको मानिसले त्यत्रो पैसा कहांबाट ल्याउने, सरीता भन्छिन्, तर हामीसंग अरु बिकल्प पनि थिएन ।” जहां कोही हुदैन त्यहां भगवान सहारा भनेको एउटा भनाई मात्रै होइन रहेछ । सरीताको जीवनको त्यो कुरा चरितार्थ भयो । लामो समय देखि काठमाण्डौ स्थित शिक्षण अस्पतालमा अस्पतालमा आमा बुवाको स्वास्थ्य जांच गराइरहेको हुनाले त्यहांको चिकित्सकको सल्लाहवाट उनको भेट कलेजो विषेशेज्ञ डा. दिपेश गुरुवाचार्य र डा. पुकार चन्द्र श्रेष्ठसंग भयो । ति चिकित्सकसंगको भेटले सरीतामा बुवालाई बचाउन सक्छु भन्ने नयां आशा पलायो । यी दुई चिकित्सकको सल्लाह अनुुसार गत अषाढ १८ गते मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा सरीताले बुवा हिराकाजीलाई कलेजो दान दिइन् । भारतमा उपचार गर्दा लाग्ने खर्च भन्दा निकै थोरै खर्चमा हिराकाजीलाई कलेजो प्रत्यारोपण गरीयो ।अहिले १५ दिन भयो सरीताले आफ्नो कलेजो दान गरेर बुवाको ज्यान बचाइन् । बुवा आमा संगै उनी पनि स्वास्थ्य लाभ गरीरहेकी छन् । बुवा आमा दुवै अस्वस्थ्य भए पछि सरिताले आम्दानीको श्रोत जुटाउन बुटीक संचालन गरेकी थिइन् साथै एलएसएस कलेज टेकुमा एकाउन्टेनको जागिरे पनि थिइन् ।
“बुवालाई कलेजो दान गर्ने भने पछि मैले पनि धेरै तयारी गर्नुपर्ने भएकाले म पनि बुवासंगै अस्पताल जानुपर्थ्यो, पांच महिना देखि म पनि बुवा संगै चिकित्सकको निगरानीमा छु, त्यसैले मेरो सबै काम छुट्यो आम्दानीको श्रोत पनि हरायो, सरीता भन्छिन्, अहिले आर्थिक रुपमा निकै समस्या परेको छ ।” सरीताले बुवालाई कलेजो दान दिएर महान काम गरीन् । सबै संचार माध्यममा उनले गरेको कामको प्रशंसा गरीएको छ । तर यहां सम्म आइपुग्दा सरीताले भोग्नुपरेको आर्थिक, सामाजिक र मानसिक अवस्थाको छुट्टै कथा छ ।अहिले आम्दानीको कुनै बाटो छैन । उनको जागीर छुट्यो, बुटिक बन्द भयो, बुवाको नेवारी खाजा घर छैन । “बुवा आमाको उपचारमा अहिले सम्म ३५ लाख भन्दा बढी रुपैया खर्च भइसक्यो, सरीता भन्छिन्, उपचारकै लागि पैत्रिक सम्पत्ती समेत बेचियो ।”
छोरीहरुको भविष्यका लागि भन्दै हिराकाजीले सतुंगलमा अलिकति जमिन किनेका थिए । त्यो जमिन पनि उपचारकै लागि बेच्नुपर्यो । परिवारमा तीन जना बिरामी भएकाले टाढा बाट अस्पताल जान आउन समस्या पर्ने भएकाले अस्पताल नजिकै कोठा भाडा लिएर बसेका छन्, त्यसको भाडा समेत कसरी तिर्ने समस्या भएको छ । चार दिदी बहिनी मध्ये दुई दिदी बहिनीको विवाह भइसक्यो । सरीता पछि १२ कक्षा पढ्दै गरेकी अर्की कान्छि बहिनी छन् जसले अहिले सबैको रेखदेख गरीरहेकी छन् । भर्खर १२ कक्षाको परिक्षा दिएर बसेकी कान्छि बहिनी सरीलाको आगामी भविष्य अन्यौलमा परेको छ । “अब बहिनी कसरी पढाउने त्यो पनि समस्या छ, सरीता भन्छिन्, दिनदिनैको खर्च टार्न पनि अप्ठेरो भएपछि मैले मेरै साथीभाईसंग सापट मागेर खर्च टारेकी छु ।”
आफ्नो कलेजो दान दिएर बुवाको ज्यान बचाएकी सरीताको अर्काे दायीत्व छ अब परिवारलाई कसरी पाल्ने ? आमाको मृगौला प्रत्यारोपण कसरी गर्ने ? मानव अंग प्रत्यारोपण केन्द्रका चिकित्सक पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणका लागि मृगौलाको बन्दोबस्त गर्ने आश्वासन दिएका छन् । तर त्यो कहिलो हुन्छ त्यसको कुनै टुंगो छैन । समस्या नै समस्याको थुप्रोमा उभिएर पनि आशाको त्यान्द्रो नछोड्ने सरीतालाई अब तपाई हामी सबैको सहयोगको खांचो छ ।
लाइट नेपालमा खबर छ।
The post बुवालाई कलेजोको टुक्रा काटेर दिने सरितालाई अर्को बज्रपात, सहयोगको लागी अपिल (भिडियो) appeared first on News Fetch.
No comments:
Post a Comment