नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट २४ घण्टै खुल्ला गरिने - KTV Khabar

Breaking

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट २४ घण्टै खुल्ला गरिने

;

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट २४ घण्टै खुल्ला गरिने भएको छ । सो सडक खण्ड गत असार २५ गतेदेखि मुग्लिनबाट नारायणगढ जाने सवारी साधनलाई साँझ ७ देखि बिहान ५ बजेसम्म र नारायणगढबाट मुग्लिन आउने सवारीलाई साँझ ६ देखि बिहान ४ बजेसम्म रोकिदै आएको छ ।

 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मनसुनमा समेत सुधार आएको तथा पछिल्लो केही दिन पहिरो खस्ने क्रम समेत कम भएकाले रातीको समयमा समेत सडक खोल्दै सवारी सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभयो । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाको चितवनमा आज सम्पन्न बैठकले नजिकिँदै गरेका चाडपर्वलाई ध्यानमा राखी रातीको समयमा समेत सवारी सञ्चालन गर्न दिने निर्णय गरेको हो । बैठकमा यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने सहमति जुटेको छ ।

 

बैठकले छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी कालोपत्रे गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने निर्णय गरेको छ । त्यसैगरी सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्नाका साथै सडक सुरक्षासम्बन्धी सन्देश प्रचारप्रसार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

काठमाडौंबाट दशै, तिहारमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । वैकल्पिक बाटाहरु साँधुरो रहेकाले अधिकांश सवारी साधन सोही बाटो भएर चल्ने गरेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आगामी पुससम्म स्तरोन्नतीको कार्य सम्पन्न गर्नुपर्ने सो सडकखण्डको हालसम्म ५४ प्रतिशतमात्रै काम भएको छ ।

No comments:

Post a Comment